काठमाडौं,८ बैशाख । तेह्रथुमको ओयाजुङ घर भई मोरङको पथरीशनिश्चरे–१ मा डेरा गरी बस्दै आएकी २९ वर्षीया रिना बस्नेतको शव फेला परेको छ । शनिबार बिहान डेरानजिकै सडकमा निर्वस्त्र अवस्थामा बस्नेतको शव फेला परेको मोरङका प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । उनका पति सन्तोष बस्नेत वैदेशिक रोजागारीको सिलसिलामा दुबईमा छन् । उनको बलात्कारपछि हत्या भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
मोरङको मधुमल्ला माइत भएकी बस्नेतको शव शनिबार दिउँसो माइती पक्षको रोहवरमा उठाइएको छ । शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फरेन्सिक विभागमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १४ वर्षीय छोरा सँगै बस्दै आएकी उनी शुक्रबार साँझ कन्सर्ट हेर्न भनेर निस्किएकी थिइन् । शरीरमा लगाएका सबै कपडा फालिएको अवस्थामा उनको शव फेला परेको एसपी केसीले जानकारी दिए ।
बस्नेतले डेरा बसेकै घरमा कस्मेटिक पसलसमेत सञ्चालन गर्दै आएकी थिइन् । उनको कोठामा केही बियरका बोतल फेला परेको प्रहरीले जनाएको छ । ‘महिलाको बलात्कारपछि हत्या भएको आशंका छ,’ एसपी केसीले भने, ‘घटनाको अनुसन्धान सुरु गरेका छौँ ।’