Logo

मन्त्री बस्नेतद्वारा जलविद्युत् आयोजना निरीक्षण



रसुवा, ८ वैशाख । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जिल्लाको हाकु क्षेत्रमा निर्माण हुन लागेको २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको निरीक्षण गर्नुभयो ।

धुञ्चेको पुछार त्रिशूली नदीमा बाँध बाँधी १० किलोमिटर सुरुङबाट मैलुङ क्षेत्रमा १२६ मेगावाट विद्युत् उत्पादन गर्ने उक्त जलविद्युत् आयोजनाको निर्माण संरचनाका बारेमा आयोजनाका निर्देशक गिरिराज अधिकारीले मन्त्री बस्नेत समक्ष प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । हालसम्मको प्रगतिमा सडक मार्ग निर्माण हुँदै गरेको तथा आवास र कार्यालय भवन मैलुङमा निर्माण भइसकेको छ । आवश्यक प्राविधिक जनशक्तिको व्यवस्था भइसकेकाले भूमिगत संरचना निर्माणका लागि अगाडि बढ्ने क्रममा रहेको निर्देशक अधिकारीले जानकारी गराउनुभएको थियो ।

प्रतिवेदन प्रस्तुतपश्चात् मन्त्री बस्नेतले आयोजना निर्माणका क्रममा वातावरणमैत्री तवरले अगाडि बढ्न र आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई समय सापेक्ष ढङ्गले सहजीकरण गर्दै आयोजना निर्माणको कार्य निर्धारित समयमै सम्पन्न गरी देशको ऊर्जा सङ्कटको समस्यालाई सहजीकरण गर्न आग्रह गर्नुभएको थियो । उहाँले स्याँफ्रुबेँसी मैलुङखण्डको १७ किलोमिटर राजमार्गको स्थलगत निरीक्षणसमेत गर्नुभएको गोसाइकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङलुर्प तामाङले जानकारी दिनुभयो ।

नयाँ राजमार्ग भएकाले लाङटाङ राष्ट्रिय निकुञ्जलाई आइपरेको चुनौची र समाधानका लागि गरिएका प्रयासका बारेमा मन्त्री बस्नेतसमक्ष निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

‘अब ५० दिनमै इआइए हुन्छ’

वन तथा वातावरणमन्त्री बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन ९आइइई० र वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन ९इआइए० ५० दिनभित्र हुने बताउनुभयो । रसुवाको गोसाइँकुण्ड गाउँपालिका र लाङ्टाङ राष्ट्रिय निकुञ्जद्वारा शनिबार संयुक्तरुपमा आयोजित २४औँ वन्यजन्तु सप्ताह समापन कार्यक्रममा उहाँले वन मन्त्रालयलाई विकास विरोधी मन्त्रालयका रुपमा लिइने गरिएको गुनासो गर्दै आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “अब आइइई र इआइएका कारण विकास आयोजना निर्माणमा ढिलाइ हुने छैन, यी काम ५० दिनमा सक्ने गरी तयारी गरिरहेका छौँ ।” सरकारले समृद्धिको अगुवाइ गरिरहेकाले उहाँले समृद्धिको यात्रामा जनता सरिक नभएसम्म परिणामुखी नतिजा नआउने बताउनुभयो । विकासका काममा सरकार र प्रतिपक्षको भावना राख्न नहुनेमा उहाँले जोड दिनुभयो । उहाँले सरकार बाहिर रहेका दल र शक्तिलाई पनि सहकार्यका लागि अपिल गर्नुभयो । मन्त्री बस्नेतले रसुवाको गोसाइँकुण्ड क्षेत्रमा पाइने रेडपाण्डा संरक्षण गर्नसके आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने भएकाले त्यसमा लाग्न स्थानीय सरोकारवालासँग आग्रह गर्नुभयो । कार्यक्रममा सांसद हीतबहादुर तामाङ, सत्या पहाडीलगायतको उपस्थिति थियो ।रासस



प्रतिक्रिया दिनुहोस्