दमौली, १० वैशाख । एउटै सडकमा तीन तहका सरकारले लगानी गरेको पाइएको छ । तनहँुको प्रसिद्ध धार्मिक तीर्थस्थल छाब्दीबाराही जाने मोटरमार्ग कालोपत्रेका लागि सङ्घीय, प्रदेश र स्थानीय तहले बजेट विनियोजन गरेका हुन् ।
दमौलीदेखि छाब्दीसम्मको सात किमि कच्चीसडक कालोपत्रेका लागि ब्यास नगरपालिकाले रु दुई करोड, सङ्घीय र प्रदेश सरकारले रु एक÷एक करोड बजेट विनियोजन गरेका छन् । तीनवटै तहका सरकारको छुट्टाछुट्टै बजेटमा उक्त मार्गको तीन किलोमिटर खण्डमा कालोपत्रे गर्न काम शुरु भएको छ ।
उक्त सडकलाई तीन खण्डमा विभाजन गरेर तीन तहको सरकारले विनियोजन गरेको रकमले कालोपत्रेको काम शुरु भएको सडक उपभोक्ता समितिका सचिव निर्मल पण्डितले जानकारी दिनुभयो ।
दमौलीबाट छाब्दीतर्फ जाने पहिलो खण्डमा सङ्घीय सरकारले विनियोजन गरेको रु एक करोडबाट पक्की नाला निर्माण र करीब ८०० मिटर सडक कालोपत्रे शुरु भएको पण्डितले बताउनुभयो ।
गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु एक करोडबाट छाब्दीबाट दमौलीतर्फ आउने त्यति नै दूरी सडकमा पक्की नाला निर्माणसहित सडक चौडा र कालोपत्रेको काम शुरु गर्ने तयारी गरिएको छ ।
यसैगरी ब्यास नगरपालिकाले विनियोजन गरेको रु दुई करोड बजेटबाट भड्खलादेखि गौंडाको पहराको पूर्वतर्फको उकालोसम्मको सडकखण्डमा कालोपत्रेको काम भइरहेको छ । बस नगरपालिकाले यो मार्गलाई नगरस्तरीय मार्गको रुपमा छनोट गरी कालोपत्रेका लागि बजेट विनियोजन गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।
ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एउटै आयोजनालाई तीन सरकारले बाँडेर आ–आफ्नो तरिकाले काम गर्ने र त्यहाँका जनतालाई सबैले यो योजना हाम्रो हो भन्ने जटिल अवस्था सिर्जना भएको बताउनुभयो ।
सङ्घ र प्रदेश बजेटबाट कालोपत्रे हुने सडकको ठेक्का डायमन्ड कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ भने ब्यास नगरपालिकाको ठेक्का जिएस कन्स्ट्रक्सन प्रालि दमौलीले पाएको छ । सडक डिभिजन कार्यालय दमौलीका प्रमुख विष्णु काफ्लेले छाब्दीमार्गलाई उच्च प्राथमिकतामा राखेर वर्षा शुरु हुनु अगाडि नै कालोपत्रे सकिने गरी काम गरिने बताउनुभयो ।
उक्त सडक कालोपत्रे नहुँदा वर्षायामको समयमा हिलो र हिउँदमा धुलोले सर्वसाधारण मर्कामा पर्दै आएका थिए । स्थानीयवासीले छाब्दी मार्ग कालोपत्रेका लागि जनप्रतिनिधिलाई पटक÷पटक दबाब दिँदै आएका थिए । रासस