विराटनगर, १५ वैशाख । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले दुई ठूला पार्टीका कारण सङ्घीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप लगाउनुभएको छ ।
सङ्घीय समाजवादी फोरम नेपालको प्रदेश नं १ प्रथम राष्ट्रिय एकता अधिवेशन उद्घाटनका अवसरमा उहाँले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काङ्ग्रेस र नेकपाले बाध्य भएर सङ्घीयता स्वीकार गरेको बताउनुभयो । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री यादवले सङ्घीयताअनुसार निर्माण गरिएको प्रदेश सरकारको अधिकारमा समेत कटौती गरिएको बताउनुभयो । उपप्रधानमन्त्री यादवले ठूला पार्टीले एकल जातिय सोचबाट बाहिर निस्केमा मात्र सङ्घीयताको प्रभावकारी कार्यान्यव हुने प्रष्ट पार्नुभयो ।
पार्टीका वरिष्ठ नेता अशोक राईले सङ्घीयतालाई बलियो बनाउन पुनः एक पटक मधेश आन्दोलनको आवश्यकता भएको बताउनुभयो । उहाँले सङ्घीयता र समाजवादबाटै मुलुकका सबै समस्या समाधान हुने र उत्पादन वृद्धिका साथै न्यायपूर्ण वितरण प्रणालीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । दुई दिनसम्म चल्ने सो अधिवेशनमा प्रदेशअन्तर्गतका १४ जिल्लाका पार्टी प्रतिनिधिको सहभागिता छ । रासस