Logo

लुम्बिनी भ्रमणका लागि कर्णाली सरकारलाई निम्तो



प्रदेश नं ५ सरकारले कर्णाली प्रदेश सरकारलाई लुम्बिनी भ्रमणका लागि निम्तो पठाएको छ । आगामी जेठ ४ गते बुद्ध जन्मजयन्तीका दिन उद्घाटन हुने ‘लुम्बिनी भ्रमण वर्ष २०७६’ को समारोहमा सहभागिताका लागि कर्णाली प्रदेश सरकारलाई निम्तो आएको हो ।

यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममार्फत प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले दिनुभएको निम्तो कर्णाली प्रदेशका पर्यटनमन्त्री नन्दसिंह बुढालाई दिइएको छ । सोही निम्तोलाई ग्रहण गर्दै पर्यटनमन्त्री बुढाले कर्णाली प्रदेश सरकारले आफ्नो अर्थपूर्ण उपस्थिति देखाउने बताउनुभयो ।

“भ्रमणमा सहभागी हुन निम्तो दिएकामा धन्यवाद छ”, उहाँले भन्नुभयो, “भूगोल जोडिएकाले अब लुम्बिनी आउने पर्यटकलाई कर्णालीमा ल्याउने वातावरण सिर्जना गर्नुपर्दछ ।”

बुद्धका १२ धाममा डोल्पाको से–गुम्बा पनि एक भएको जनाउँदै पर्यटनमन्त्री बुढाले भन्नुभयो, “निकट भविश्यमै निर्माण कार्य सम्पन्न हुन लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले बाह्य पर्यटकको आगमन बढ्छ र त्यसले प्रदेश नं ५ का साथै कर्णाली प्रदेशको पर्यटन विकास तथा आर्थिक समृद्धिमा टेवा पुग्छ ।”

लुम्बिनीमा आउने पर्यटकलाई कर्णाली नआए यात्रा सपना अपूरो र यात्रा अधुरो हुने परिस्थिति खडा गर्न एक अर्को प्रदेशमा समन्वय हुनुपर्नेमा उहाँको जोड थियो । कर्णाली प्रदेश सरकारले पनि १०१ पर्यटकीयस्थल पहिचान गरेकाले भ्रमण गरेर आनन्द लिन उहाँले आग्रह गर्नुभयो ।

प्रदेश नं ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत केशवबहादुर सुनारले पर्यटनमन्त्री गिरीले जारी गर्नुभएको प्रेस विज्ञप्ति वाचन गर्दै प्रदेश नं ५ सरकारको ‘समृद्ध प्रदेश, खुशी जनता’ को नारालाई सार्थक तुल्याउनका लागि कर्णालीवासीलाई लुम्बिनी भ्रमणमा आउन आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot