Logo

भाइरल भिडियो ‘भ्रमात्मक’



काठमाडौं १९ बैशाख । जिल्ला प्रशासन कार्यालय पर्सा अगाडि नागरिकता लिन लामबद्ध नागरिकको एउटा भिडियो एक सातादेखि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने नम्रता वाग्लेले नागरिकता लिने लाइनमा भारतीय नागरिक मात्र रहेको बताएकी छन् ।

नेपाल सरकारले जन्मका आधारमा नागरिकता लिएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने निर्णय गरेपछि भारतीयको भीड बढेको उनले दाबी गरेकी छन् । यस्तो देखेर आफू आश्चर्यचकित भएको पनि उनको भनाइ छ । ‘के आधारमा तपाईंले सबैलाई भारतीय नागरिक भन्नुभएको हो,’ वाग्लेको पोस्टमा वीरगन्जका सामाजिक अभियन्ता आशु सर्राफले लेखेका छन्, ‘गोरो छाला नभएका हरेक व्यक्तिलाई गैरनेपाली देख्ने तपाइर्ंको मानसिकतालाई उपचार आवश्यक छ । बिनाप्रमाण भ्रम फिँजाउन सरल छ तर यथार्थ बताउन गाह्रो हुन्छ । बिन्ती गर्छु मलाई प्रस्ट पारिदिनुस् कुन आधारमा तपाइर्ंले उहाँहरूलाई गैरनेपाली भन्नुभएको हो ?’

सर्राफको जिज्ञासामा वाग्लेले कुनै प्रतिक्रिया जनाएकी छैनन् । वाग्लेको भिडियोमा फोटोकपी पसलका साहूले ‘कसैलाई नेपाली बोल्न आउँदैन, न त लेख्न नै, निःसन्देह भारतीय त हुन् नि’ भन्ने प्रतिक्रिया दिएका छन् । नेपाली बोल्न नआउँदैमा कोही भारतीय हुन्छ भनी सोध्दा उनी चाहिनेभन्दा बढी भाइरल भयो भन्दै पन्छिए । गृह मन्त्रालयले उक्त महिलालाई खोजबिन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले उक्त भिडियोले भ्रम फैलाएको बताए ।

सरकारले जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने निर्णय गरेपछि सामान्य अवस्थाभन्दा बढी भीड प्रशासनमा लागेको छ । तर, कडाइका साथ जाँच गरेर मात्र नागरिकता वितरण गरिएको प्रशासनको दाबी छ । गलत विवरण पेस गरी छोरीको नागरिकता बनाउन खोज्दा सुदामा साहलाई आइतबार प्रशासनले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । गलत विवरण पेस गरी वंशजको नागरिकता लिन खोज्ने ६ जनालाई नियन्त्रण्मा लिएर कारबाही गरिएको छ । नागरिकता लिन आउने निवेदकका आमाबुवाको नागरिकतासहित बसोबासको प्रमाणका आधारमा नागरिकता दिने गरिएको छ ।

प्रजिअ भट्टराईका अनुसार जन्मका आधारमा नागरिकता लिएका सन्तानले वंशजको नागरिकताका लागि दैनिक दुई सयदेखि दुई सय ५० निवेदन दर्ता हुने गरेका छन् । ‘पहिलो ५० जनालाई नागरिकता पाउने मिति र दर्ता नम्बर उल्लेख भएको टोकन दिन्छौं,’ उनले भने, ‘दैनिक अढाई सयसम्म दर्ता भए पनि जाँच गरी ५०/५५ ले मात्र नागरिकता पाएका छन् ।’ वडाबाट नागरिकताका लागि सिफारिस भएर आएका निवेदन सनाखत गरी दर्ता हुन्छन् । शंका लागे सर्जमिन पनि गरिन्छ । घर नहुँदा जग्गाको प्रमाण खोजिन्छ । कागजात नमिले कतिपय वडाध्यक्ष आफैं सीडीओ अफिस पुगेर सिफारिस गर्छन् । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्