Logo

पार्टीभित्र अनुशासनको खाँचो छः सभापति देउवा



काठमाडौँ, १९ वैशाख । नेपाली काङ्ग्र्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ ।काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सपथ ग्रहण कार्यक्रममा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा उहाँले पार्टीमा अनुशासन नभएसम्म निर्वाचन जित्न नसक्ने बताउनुभयो । “निर्वाचनको बेला टिकट पाउनेलाई सहयोग गरौँ, निर्वाचन जिताउन लागौँ”, उहाँले भन्नुभयो ।

सभापति देउवाले पार्टीको आन्तरिक निर्वाचनमा हार्ने व्यक्तिले जित्ने व्यक्तिलाई असहयोग गर्दा पार्टी कमजोर बन्दै गएको बताउनुभयो । “एक अर्कालाई सहयोग नगरेसम्म पार्टी बलियो हुन सक्दैन”, उहाँले भन्नुभयो । उहाँले काङ्ग्रेस समावेशी पार्टी भएकाले यसलाई बलियो बनाउनका लागि केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो ।

पार्टीका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक विमलेन्द्र निधिले काङ्ग्रेसको विधान अरु पार्टीको भन्दा उत्कृष्ट भएकाले यसलाई आम जनतामाझ लैजानुपर्ने बताउनुभयो । संयोजक निधिले प्रतिष्ठानले पार्टीको नीति बनाउने कुरा, अनुसन्धान गर्ने र प्रशिक्षण दिने बारेमा काम गर्ने उल्लेख गर्नुभयो । “प्रदेशस्तरमा समेत केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान लैजान्छौँ”, उहाँले भन्नुभयो । उहाँले पार्टीको यही वैशाख २५ गतेदेखि शुरु हुन लागेको ‘हिमाल, पहाड तराई–मधेस जागरण अभियानलाई सहयोग गर्न प्रतिष्ठानका सदस्यको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

काङ्ग्रेसको प्रशिक्षण प्रतिष्ठान ५१ सदस्सीय कार्यसमिति भए पनि आज ४५ सदस्यले सपथ ग्रहण गर्नुभएको थियो । आगामी निर्वाचनमा काङ्ग्रेसलाई विजयी बनाउनका लागि प्रतिष्ठानले काम गर्ने प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्