Logo

टुट्दै जोडिँदै बाबुराम-उपेन्द्र



काठमाडौं २४ बैशाख ।  वैकल्पिक राजनीतिको मियो थाम्ने उद्घोषसहित डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले सोमबार पार्टी एकता गरेका छन्। दुवै जना पार्टी अध्यक्ष हुने गरी एकता गरिएको ‘समाजवादी पार्टी नेपाल’मा भट्टराई र यादवको कार्यविभाजन भने अलग छ। भट्टराई संघीय परिषद् अध्यक्ष र यादव केन्द्रीय कमिटी अध्यक्ष भएका छन्।

वरीयतामा एकीकृत पार्टीको पहिलो नम्बरमा डा. भट्टराई नै छन्। तर खास कार्यकारी भूमिकामा यादव हुने देखिएको छ। यी दुई नेताको राजनीतिक पृष्ठभूमि भिन्न छ। बाबुरामको राजनीतिक पृष्ठभूमि सुरुवातमा कांग्रेससँग जोडिएको थियो भने उपेन्द्रको पृष्ठभूमि वामपन्थीहरूसँग।

बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्केपछि भट्टराई उनको त्यो नीतिसँग सहमत देखिएनन्। त्यसपछि उनको सम्बन्ध कांग्रेससँग ‘ब्रेक’ लाग्यो। उनको झुकाव क्रमशः कम्युनिस्टहरूसँग बढ्न थाल्यो। उपेन्द्र भने सुरुदेखि नै पुष्पलालले नेतृत्व गरेको कम्युनिस्ट पार्टीबाटै राजनीतिमा प्रवेश गरेका थिए। राजनीतिमा आएको विविध उतारचढावपछि भने अहिले दुवै नेताले वामपन्थी राजनीति छाडेका छन्। दुवै समाजवादी पार्टी निर्माणमा लागेका छन्। हुर्काइ, वर्ग धरातल भने दुवै नेताका एकै खालका देखिन्छन्। यादव अहिले सरकारमा उपप्रधान तथा स्वास्थ्यमन्त्री छन्। भट्टराई विपक्षी बेन्चमा छन्।

भट्टराईभन्दा ५ वर्ष कान्छा उपेन्द्र

यादव डा. भट्टराईभन्दा ५ वर्षले कान्छा छन्। भट्टराई २०११ सालमा गोरखाको खोप्लाङमा जन्मिएका हुन्। यादव भने २०१६ सालमा तत्कालीन समयको सप्तरीको भागवतपुरमा जन्मिएका हुन्। एसएलसीपछि दुवै नेता विज्ञानका विद्यार्थी थिए। उपेन्द्रले धरानको हात्तीसार क्याम्पसबाट आईएससी गरेर पछि विराटनगरको महेन्द्र मोरङ क्याम्पसबाट स्नातक र स्नाकोत्तर गरेका थिए।

डा. भट्टराई एसएलसीमा बोर्ड फस्ट भएपछि काठमाडौंको अमृत साइन्स क्याम्पसमा विज्ञान पढ्न आएका थिए। आर्किटेक्चर इन्जिनियर डा. भट्टराईले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयवाट पीएचडी गरेका हुन्। उनले ०३७ सालमा भारतमा अध्ययनकै क्रममा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए।

फोरमका परिकल्पनाकार नै भट्टराई !

यादव सुरुमा नेकपा मार्क्सवादीका कार्यकर्ता थिए। माले-मार्क्सवादीबीच पार्टी एकतापछि बनेको तत्कालीन एमालेका तर्फबाट उनी २०४८ को संसदीय चुनावमा सुनसरी ५ मा उम्मेदवार नै बनेका थिए। मेची-कोसी क्षेत्रको पार्टी जिम्मेवारीमा रहेका यादवलाई त्यस बेला भरतमोहन अधिकारीले परिचालन गर्थे। २०४८ को चुनावमा उनी कांग्रेस नेतासँग उनी चुनावमा पराजित भए।

त्यसपछि उनको एमालेसँगको सम्बन्धमा पनि दरार उत्पन्न हुन थाल्यो। उनी क्रमशः तत्कालीन माओवादीसँग नजिकिन थाले। डा. भट्टराईसँग लामो समय सँगै रहेर काम गरेका नेकपाका नेता खिमलाल देवकोटाका भनाइमा, जनयुद्धलाई उत्कर्षमा उठाउने बेलामा मधेसलाई उठाउनुपर्छ भन्ने पार्टी नीति बनेपछि जातीय आधारमा पार्टीको आन्तरिक मोर्चाका रूपमा मधेसी राष्ट्रिय मुक्ति मोर्चा र बाह्य रूपमा संयुक्त मोर्चाका रूपमा विकास गर्न मधेसी जनअधिकार फोरम बनाउने कुरा आयो।

त्यसका परिकल्पनाकार डा. बाबुराम भट्टराई नै थिए। ‘मधेसी जनअधिकार फोरम एनजीओका रूपमा ल्याउने योजनाका परिकल्पनाकार नै डा. बाबुराम भट्टराई हुनुहुन्थ्यो,’ देवकोटाले अन्नपूर्णसँग भने, ‘बाबुरामले संयुक्त मञ्च, मोर्चाहरू निर्माण गर्नुपर्छ भनेर परिकल्पना गरेपछि त्यसको जिम्मा उपेन्द्रलाई दिनुभएको हो। मातृका यदवलाई मधेसी मोर्चाको जिम्मा दिइएको थियो।’ त्यस बेला उपेन्द्र माओवादीको क्षेत्रीय ब्युरो स्तरका नेता थिए। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्