Logo

पाँच विद्यालय समायोजन



दमौली, २४ वैशाख । विद्यार्थी कम भएपछि तनहुँको व्यास नगरपालिकाका पाँच विद्यालय समायोजन गरिएको छ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीबाराही प्राथमिक विद्यालय, वडा नं १२ स्थित देउराली प्राथमिक विद्यालय, वडा नं ६ स्थित भवानी प्राथमिक विद्यालय, वडा नं ७ स्थित क्यामिनछाप प्राथमिक विद्यालय र सोही वडास्थित जनकल्याण प्राथमिक विद्यालय समायोजन गरिएको हो ।

ती विद्यालयलाई नजिकको अन्य विद्यालयमा समायोजन गरिएको व्यास नगरपालिका शिक्षा शाखाका अधिकृत रामेश्वर लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार छाब्दीबाराहीलाई केशवटार माध्यमिक विद्यालयमा, भवानीलाई महेन्द्रज्योति माध्यमिक विद्यालयमा र अन्य विद्यालयलाई नजिकको बाल विकास केन्द्रमा समायोजन गरिएको छ ।

उहाँले भन्नुभयो, “विद्यालयमा १० भन्दा कम विद्यार्थी रहेका विद्यालयलाई नजिकको विद्यालयमा समायोजन गरिएको हो ।” नगरपालिकाको नगर शिक्षा नियमावली र विद्यालय व्यवस्थापन समितिको सहमतिमा विद्यालय समायोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

व्यास नगर शिक्षा ऐन, २०७५ को परिच्छेद २ मा तोकिएको पूर्वाधार पूरा नभएको, अधिकांश कक्षामा १० भन्दा कम विद्यार्थी सङ्ख्या भएको, दुई वा सोभन्दा बढी विद्यालयको परिसर एकापसमा जोडिएको, दुई वा सोभन्दा बढी विद्यालयबीचको पैदलदूरी ३० मिनेटभन्दा कम रहेको र दुई वा सोभन्दा बढी विद्यालयका व्यवस्थापन समितिले विद्यालय गाभ्न संयुक्त निवेदन दिएको खण्डमा विद्यालय समायोजन गर्न सक्ने प्रावधान छ ।

ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु

व्यास नगरपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण शुरु गरेको छ । यसअघि महिला तथा बालबालिका कार्यालयले वितरण गर्दै आएको परिचयपत्र पहिलोपटक नगरपालिकाले वितरण शुरु गरेको हो । ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षाभत्ता बुझ्न परिचयपत्र आवश्यक पर्ने भएपछि नगरपालिकाले परिचयपत्र वितरणको थालनी गरेको नगरपालिकाका उपप्रमुख मीरा जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाले सोमबार ५०० ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरेको छ ।

वडा कार्यालय वा नगरपालिकाको महिला तथा बालबालिका कल्याण शाखामा निवेदन दिएपछि तत्कालै परिचयपत्र उपलब्ध गराइने शाखा प्रमुख राधा वाग्लेले बताउनुभयो । ज्येष्ठ नागरिक परिचयपत्र वितरण निर्देशिका २०७४ बमोजिम सरकारले ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गर्दै आएको छ । नगरपालिकाले अपाङ्गता परिचयपत्रसमेत वितरण शुरु गरेकामा पहिलो दिन सोमबार नौ जनाले उक्त परिचयपत्र लिएको जनाएको छ ।

राष्ट्रपति रनिङशिल्डको उपाधि महेन्द्रज्योतिलाई

तनहुँको घिरिङ गाउँपालिकाले आयोजना गरेको प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि घिरिङ गाउँपालिका–४ स्थित महेन्द्रज्योति माध्यमिक विद्यालयले जितेको छ । सोमबार सम्पन्न प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुँदै महेन्द्रज्योतिले रनिङशिल्डको उपाधि जितेको हो । तीन दिनसम्म चलेको प्रतियोगितामा सात विद्यालयका विद्यार्थी सहभागी थिए ।

प्रतियोगितामा छात्र÷छात्रा भलिबल र एथेलेटिक्सतर्फ १०० मिटर, ४०० मिटर र एक हजार ५०० मिटर दूरीमा प्रतिस्पर्धा भएको थियो । छात्र भलिबलमा महेन्द्रज्योति मावि प्रथम हुन सफल भएको छ । महेन्द्रज्योतिले फाइनलमा चन्द्रज्योतिलाई पराजित गरेको थियो । छात्रा भलिबलमा भने चन्द्रज्योति मावि प्रथम भएको छ । चन्द्रज्योतिले घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माविलाई फाइनलमा पराजित गरेको स्रोतव्यक्ति दामोदर खनालले जानकारी दिनुभयो । छात्रछात्रातर्फ दुवै विधाका प्रथम र द्वितीयलाई प्रमाणपत्रसहित क्रमशः नगद रु १० हजार र आठ हजारले पुरस्कृत गरिएको छ ।

एथेलेटिक्स १०० मिटर दौडमा छात्रतर्फ चन्द्रज्योतिका थमसिहं थापा प्रथम, महेन्द्रज्योतिका सन्तोष कुमाल द्वितीय र कृष्णका विमल खाँड तृतीय भए । छात्रातर्फ कृष्णकी सुस्मिता श्रेष्ठ प्रथम, चन्द्रज्योतिकी केपिला श्रेष्ठ द्वितीय र महेन्द्रकी अस्मिता कुमाल तृतीय भइन् । ४०० मिटर दौडमा छात्रतर्फ सरस्वतीका सुमन थापा प्रथम, महेन्द्रज्योतिका कुलबहादुर कुमाल द्वितीय र चन्द्रज्योतिका सोमबहादुर थापा तृतीय भए भने छात्रातर्फ चन्द्रज्योतिकी निशा थापा प्रथम, महेन्द्रज्योतिकी बुद्धिमाया कुमाल द्वितीय र कृष्णकी नारायणी श्रेष्ठ तृतीय हुन भइन् ।

एक हजार ५०० मिटर दौडमा छात्रतर्फ महेन्द्रज्योतिका मनबहादुर कुमाल प्रथम, चन्द्रज्योतिका दशरथ आले द्वितीय र कृष्णका मनोज थापा तृतीय भए भने छात्रातर्फ चन्द्रज्योतिकी पस्मिता थापा प्रथम, महेन्द्रज्योतिकी गोमती कुमाल द्वितीय र दीपककी शर्मिला कुमाल तृतीय भइन् । विजेताले क्रमशः रु दुई हजार, एक हजार ४०० र एक हजार १०० नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । विजेतालाई गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले पुरस्कार वितरण गर्नुभएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्