काठमाडौं २६ बैशाख । सशस्त्र द्वन्द्व अन्त्य गरेको १२ वर्षपछि नेकपा अध्यक्ष पुष्पकमल दाहालले जंगल जाने कुरा किन गरे ? यसबारे सर्वत्र जिज्ञासा उठेको छ । ‘म फेरि एकचोटि सम्पूर्ण चिज त्याग गरेर जंगल जान सक्छु भन्ने विश्वास छ । मलाई पटक्कै गाह्रो लाग्दैन,’ उनले आइतबार राजधानीको मार्क्स जयन्ती कार्यक्रममा भने, ‘अर्को एउटा क्लाइमेक्समा यो पार्टी र आन्दोलनलाई लगेर माथि जाने विचार छ ।’
दाहालले जंगल जाने कुराको अर्थ हुन्छ, सशस्त्र द्वन्द्वको बाटो लिने । २०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र द्वन्द्व सुरु गरेका बेला ‘जंगल पसेको’ भनिएको थियो । त्यसपछिको १० वर्षे अवधिमा उनको जंगलसित प्रेम बस्यो किनकि सशस्त्र द्वन्द्व टिक्नुमा जंगल पनि एक कारण हो । अहिले सशस्त्र द्वन्द्व गर्ने अवस्था छैन, तैपनि उनमा जंगल पस्ने मोहभंग भइसकेको रहेनछ ।
सामान्य अर्थमा दाहालको भनाइ नेकपालाई सुधार गर्ने अभिव्यक्तिका रूपमा लिन सकिन्छ । तर उनले जुन भाषा प्रयोग गरे, त्यो विद्रोही अवस्थामा प्रयोग हुने खालको छ । आफ्नै पार्टीले सरकारको नेतृत्व गरिरहँदा आएको जंगल पस्ने अभिव्यक्ति विरोधाभासपूर्ण लाग्छ । आफैं सरकारमा अनि आफैं जंगल पस्ने चेतावनी कसलाई दिएको हो ? पूर्ण रूपमा शान्ति–प्रक्रियामा आइसकेको, लोकतान्त्रिक व्यवस्था अँगालेका नेकपाका एक अध्यक्षको यस्तो अभिव्यक्ति किन ? दाहालनिकट नेता चूडामणि खडका भन्छन्, ‘पार्टीलाई सुधारका लागि कठोर कदम चाल्ने उहाँको आशय हो । जंगल पसेर युद्ध गर्ने सोझो अर्थ होइन ।’
त्यसो त सशस्त्र द्वन्द्वको छाप दाहालमा अझै छ । उनी बेलाबेला कठोर शब्द प्रयोग गर्दा त्यस बेलाको प्रसंग उठाउँछन् । दाहालले आफ्नो मन्तव्यमा ‘लाखौं मान्छेको बीचमा एक्लो महसुस गरेको र मनोबल कमजोर भएको’ समेत बताए । ‘लाखौं कार्यकर्ता छौं, राज्यसत्ताको नेतृत्व गर्ने ठाउँमा आइपुगेका छौं । संसारै जितिन्छ भन्ने आत्मविश्वास, मानोबल थियो । अहिले केही पनि सकिँदैन भन्ने किन भा छ ?’ उनले आफैंलाई प्रश्न गरे, ‘हामी थोरै हुँदा लाखौं, करोडौं र अर्बौं जनताका नेता, प्रतिनिधि हौं भनेर गर्वका साथ हिँडिन्थ्यो । अहिले पार्टी यत्रो विशाल छ, सबै एक्लाएक्लै छौं क्यारे ।’
दैनिक दर्जनौं नेता–कार्यकर्ता भेट्ने, सयौं मान्छेबीच भाषण गर्ने नेकपा अध्यक्ष दाहालले एक्लो महसुस भएको बताउँदा जिज्ञासा उठ्नु स्वाभाविक छ । के उनी हजारौं कार्यकर्ताबीच एक्लिएकै हुन् ? राजनीतिक घटनाक्रमले त्यस्तो देखाउँदैन । पार्टी एकतापछि दाहाल झन् ठूलो मासको नेता भएका छन् । निर्वाचनपछि शक्तिशाली भएका छन् ।
उनले नेता–कार्यकर्ताबीच ‘कमरेडली’ सम्बन्ध नभएको प्रसंग कोट्याउँदै युद्धकालीन दिन असल भएको सम्झिए । ‘जनयुद्ध गर्दा कहिले जंगलमा सुतियो, कहिले कहाँ ? त्यति बेला जंगलजस्तो लाग्दैनथ्यो । त्यस बेला सबैको प्रेम, विश्वास भएजस्तो लाग्थ्यो, एक्लै हुँदा पनि लाखौं करोडौं मान्छेको बीचमा भएको अनुभूति हुन्थ्यो,’ उनले थपे, ‘अहिले लाखौंको बीचमा काठमाडौंमा आउँदा जंगलमा आएजस्तो हुन थाल्यो । कोही पनि आफ्नो होइन कि जस्तो । आफू पनि अरूको होइन जस्तो । एक्लै हुन थालियो । के भा हो ? विचित्र छैन त कमरेडहरू ?’ उनले आफ्ना नेता–कार्यकर्ताप्रति यसरी तिखो व्यंग्य गरे । साथै नेता–कार्यकर्ताको कार्यशैली सुविधाभोगी भएको बताए ।
कुनै बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सशस्त्र युद्धलाई जंगल पसेको भन्दै व्यंग्य गरेका थिए । दाहालको पछिल्लो भनाइ ओलीप्रति संकेत नभए पनि उनले अहिलेभन्दा जंगलमा बसेको अर्थात् द्वन्द्वको अवस्थालाई मिठो गरी सम्झिए । दाहालले एक्लो महसुस गर्नुपर्ने अनौठो अवस्था कसरी आयो, व्याख्या गरेनन् । बरु विद्रोही नेताले प्रयोग गर्ने अर्को अभिव्यक्ति दिए । ‘अहिले छ, सात लाख मेम्बर (सदस्य) जुरुक्क उठ्ने हो भने दलाल पुँजीपति नोकरशाहलाई लखेट्ने तागत छ हामीसँग,’ उनले प्रश्न गरे, ‘हिम्मत हारेजस्तो, उत्साह मरेजस्तो किन भयो ? सवाल हो यो । केही मिस भएको छ । त्यो मिस भएको खोजी गर्ने जिम्मेवारी तपाईं हाम्रो काँधमा छ ।’
नरम र गरम हुन सक्ने नेता
अध्यक्ष दाहालले कुनै बेला मार्क्सवादको व्याख्या यसरी गरेका थिए, ‘मार्क्सवाद दायाँबायाँ हुँदै अघि बढ्छ ।’ उनले यो कुरा व्यवहारमा उतार्दै आएका छन् । उनको राजनीतिक यात्रा पनि दायाँबायाँ हुँदै अघि बढेको छ ।
२०५२ सालमा सशस्त्र द्वन्द्व सुरु गरेपछि दाहालले मार्क्सवादलाई भरपूर उपयोग गर्दै रणनीति बनाएका छन् । राज्यविरुद्ध विप्लव गरेका उनले द्वन्द्वकै बेला तत्कालीन राजासँग अप्रत्यक्ष वार्ता गरे । मिलेर राज्यसत्ता कब्जा गर्ने प्रस्ताव पनि राखेका थिए । राजाले शासन आफ्नो हातमा लिएपछि उनी राजनीतिक दलसँग सहकार्य गरी जनआन्दोलन–२ मा सहभागी भए । २०५२ सालदेखि २०६० सम्म उनले कांग्रेस र एमालेविरुद्ध लड्ने नीति लिए । २०६१ सालपछि तिनै कांग्रेस, एमालेसँग सहकार्यमा राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना, संविधानसभा निर्वाचन हुँदै संविधान निर्माणसम्म पुगे ।
भ्लादिमिर लेनिनले भनेका छन्, ‘कहिलेकाहीँ दुई कदम अघि बढ्न एक कदम पछि हट्नुपर्ने हुन्छ ।’ दाहाल बेलाबेला एक कदम पछि हटेर भए पनि दुई कदम अघि बढ्ने रणनीति लिन सिपालु छन् । उनलाई नजिकबाट चिन्ने नेताहरू भन्छन्, ‘दाहाल कुनै पनि बेला जस्तोसुकै निर्णय लिन तयार हुन्छन् ।’ यसको पछिल्लो उदाहरण एमालेसँग पार्टी एकता गरी उनी शक्तिशाली स्थानमा पुगे । आगामी महाधिवेशनमा नेकपाको अध्यक्षमा निर्वाचित हुने उनको रणनीति छ । कान्तिपुरबाट