Logo

‘प्रेससम्बन्धी विधेयकमाथि पर्याप्त छलफल गराउँछौं’



काठमाडौं ३१ बैशाख । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले प्रेससम्बन्धी विधेयकहरूमा संसदमा पर्याप्त छलफल गराउने बताएका छन् । सरकार नियन्त्रित मिडिया काउन्सिल गठनलगायत प्रावधान राखेर ल्याइएको विधेयकबारे सोमबार पत्रकार महासंघको टोलीको ज्ञापनपत्र बुझ्दै उनीहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सभामुख कृष्णबहादुर महराले प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कानुन संसदबाट पारित हुन नसक्ने बताए। हाल दर्ता भएको विधेयकमाथि विषयगत समितिमा पर्याप्त छलफल गराउने उनले जानकारी दिए। समितिको छलफलमा सरोकारवालालाई पनि बोलाएर धारणा र सुझाव लिइने उनले बताए। महासंघ टोलीले सोमबारै राष्ट्रिय सभा अध्यक्ष तिमल्सिनालाई भेटेर विधेयकबारे ध्यानाकर्षण गराएको थियो। अध्यक्ष तिमल्सिनाले विधेयकमा रहेका कमजोरी सञ्चाउन संसदले भूमिका खेल्ने प्रतिबद्धता जनाए।

सरकारले संसदमा दर्ता गराएको विधेयकको विरोधमा पत्रकार महासंघ आन्दोलित छ। यो विधेयक फिर्ता लिनका लागि महासंघ, मिडिया सोसाइटीलगायत सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन्।

महासंघले यही विषयमा आइतबार गरेको अन्तक्रिर्यामा पत्रकारहरूले विधेयक फिर्ता लिई स्वनियमन गर्ने खालको व्यवस्था हुनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका थिए। महासंघले मंगलबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समिति र प्रत्यायोजित व्यवस्थापन समितिका सभापति र सांसदहरूलाई ज्ञापनपत्र बुझाउने भएको छ।

साझा विवेकशीलको विरोध
साझा विवेकशील पार्टीले पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक प्रत्याभूतिविरुद्ध मिडियालाई नियन्त्रण गर्ने गरी संसदमा दर्ता गरिएको विधेयकको विरोध गरेको छ। उक्त पार्टीेले सोमबार पत्रकार सम्मेलन गरी तत्काल विधेयक फिर्ता गरेर सरोकारवालासँगको परामर्शमा कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ।



प्रतिक्रिया दिनुहोस्