काठमाडौं ३१ बैशाख । भनिन्छ– पशुपतिनाथले सबैको रक्षा गर्छन् । तर, नेपालका भूमाफिया यति शक्तिशाली छन्, जसबाट पशुपतिनाथले आफ्नै जायजेथा रक्षा गर्न सकिरहेका छैनन् । पशुपतिका नाममा रहेको उपत्यकाकै कम्तीमा दुई सय ३१ रोपनी १० आना जग्गा कहिले कसले खायो पत्तै छैन ।
वागमतीदेखि मनहरा नदी बगरसम्मका पशुपतिको जग्गा हराएका हुन् । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरदेखि भूमाफियासम्मले पशुपतिको जग्गा गायब पारेको ठहर छानबिन समितिले गरेको छ ।
श्रीपशुपतिनाथ अमालकोट कचहरी, श्रीपशुपति भण्डार तहबिल र जयवागेश्वरी भण्डार तहबिलको असुली लगतको अभिलेखअनुसार पशुपतिनाथको नाममा रहेको दुई सय ३१ रोपनी १० आना जग्गा गायब पारिएको छ । पशुपतिनाथको गुठी जग्गा छानबिन तथा संरक्षण समितिले अर्बाैं रुपैयाँ पर्ने जग्गा हराएको प्रतिवेदन तयार पारेको छ । कोष सञ्चालक परिषद्का कोषाध्यक्ष एवम् समितिका संयोजक डा. मिलनकुमार थापाले पशुपतिनाथको नाममा रहेका अझै धेरै जग्गा गायब पारिएको हुन सक्ने बताए ।
हालसम्म पशुपतिनाथको जग्गा र सम्पत्तिको खोजबिन गर्न तीनवटा समिति बनिसकेका छन् । संस्कृति मन्त्रालयका तत्कालीन सचिव जलकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति बनाइएको थियो । त्यो समितिले पशुपतिको जग्गाको खोजबिन गरी प्रतिवदेन बाहिर ल्याउन सकेन ।
त्यसपछि कोषका परिषद् सदस्य नवलकिशोर चौधरीको संयोजकत्वमा जग्गा छानबिनका लागि समिति बन्यो । त्यो समितिले पनि प्रतिवेदन तयार पार्न सकेन । परिषद् सदस्य रमेशराज सिवाकोटी, मालपोत विभागका महानिर्देशक, नापी विभागका महानिर्देशकलगायत राखेर कोषाध्यक्ष थापाको संयोजकत्वमा तेस्रोपटक गठित समितिले भने प्रतिवेदन तयार पारेको छ ।
‘अमालकोट कचहरीको ६ रोपनी १२ आना, जयबागेश्वरी भण्डार तहबिलको ११ रोपनी ७ आना र भण्डार तहबिलको दुई सय १३ रोपनी ७ आना जग्गा हराएको छ’, थापाले अन्नपूर्णसँग भने । भण्डार तहबिलको विवरणअनुसार लगत नम्बर २४९ को चन्द्रशमशेर मोही भएको ६ रोपनी ४ आना जग्गा हराएको छ । काठमाडौं बौद्ध–६ स्थित पूर्वप्रधानमन्त्री चन्द्रशमशेर मोही रहेको यो जग्गा उनका सन्तानले हडपेर खाएको पाइएको छ । लगत नम्बर ९२४ मा देखिने डा. रघुवीर वैद्यको बौद्धकै कित्ता नम्बर ४८ को २९ रोपनी ४ आना २ पैसा २ दाम जग्गा गायब छ । यो जग्गा कित्ताकाट भइसकेको छ तर साबिकको लगत भने काटिएको छैन ।
लगत नम्बर ४५७ मा समरबहादुर थापा क्षेत्रीको भक्तपुर जिल्लामा रहेको मौजे शारदा १४ अन्तर्गतको कित्ता नम्बर २६९ को १ रोपनी १० आना भेटिएको छैन । ‘साबिक मौजा भिडाउँदा २०२१ सालको सबै नापीमा यो जग्गा कुन कित्ता, कुन गाविसको कति वडामा पर्छ खुलेको देखिँदैन’, कोषका सब सहायक वासुदेव रिमाल भन्छन्, ‘लगत नम्बर ६५० मा रिपुमर्दन थापाको सदाबर्तबाट मार्सी फलुवा चामल तिर्नुपर्ने भनिएको जग्गा पनि भेटिएको छैन । थापाको सदाबर्त कसले सञ्चालन गरेको छ खोजबिनसम्म भएको देखिएन ।’ प्रतिवेदनले यस विषयमा खोजबिन आवश्यक रहेको सुझाव दिएको छ । गुठी संस्थानले पनि सदाबर्तबारे विस्तृत विवरण दिन सकेको छैन ।
लगत नम्बर ३०८ को मोही नरबहादुर फुयाँलको नाममा रहेको मनहरा बगरको २५ रोपनी जग्गा हराएको छ । पशुपतिनाथ भण्डार तहबिलको लगतमा रहेको यो जग्गा भक्तपुर–काठमाडौंको मूलपानी र ठिमीबीचमा रहेको देखिन्छ । ‘२०२१ सालको नापीपछि यो जग्गा कहाँ गयो, के भयो जानकारी छैन’, रिमालले भने ।
संयोजक थापाले प्रतिवेदनमा प्रारम्भिक छानबिन भएका तथ्य तथ्यांकमात्रै समावेश गरेको जानकारी दिए । उनका अनुसार देशभर सयौं रोपनी पशुपतिको जग्गा गायब भएको अनुमान छ । ‘यो प्रारम्भिक छानबिन हो, अझै कति जग्गा हराएको छ । त्यसका लागि थप खोजबिन गर्नैपर्छ । त्यसका लागि संघीय सरकारले गम्भीर चासो दिनैपर्छ’, उनले भने, ‘हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रको सम्पत्ति कति छ, कति हरायो भनेर जान्न पाउनु सबैको अधिकार हो । त्यसैले पनि पशुपतिनाथको देशभरको जग्गा खोज्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्छ ।’
हराएका जग्गा सरकारको कित्ता नापी महाशाखा, नापी कार्यालय र उपत्यकाका तीनवटै मालपोत कार्यालयसमेत कोषको प्रतिनिधि सम्मिलित व्यापक ढंगको समिति बनाएर खोजी गरिनुपर्ने उनको भनाइ छ । उनले भने, ‘पशुपतिनाथको सम्पत्ति राज्यको सम्पत्ति हो, विश्वका हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिको सम्पत्ति कसैले हडप्न मिल्दैन । कुनै हालतमा व्यक्तिको नाम हुन नदिने गरी काम अघि बढाएका छौं ।’
हराएको जग्गा पत्ता लगाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले समेत अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ । अन्यथा कोषको हविगत पनि गुठी संस्थानकै जस्तो हुने उनले बताए ।
यो समितिले १८६७ सालको लालमोहरलाई आधार बनाएर पशुपतिको जग्गाको छानबिन गरेको हो । पशुपति जयवागेश्वरी भण्डार तहबिलको साबिकको सबैभन्दा माथिल्लो सिरानीको व्यहोरामा ‘आगे दाखित बाँकी साल तमाम आमदानी श्री जयवागेश्वरी देवीमा नित्य पर्व पूजा मामुलियत गुठीमा दरियाको १८६७ साल मार्ग १ बदी ९ रोज ३ का लालमोहरबमोजिम दुक्का बिर्ताको दर्साविक बमोजिमको समेत पैदावार (मोही) आमदानी, कमदार, कारिन्दाको महसुलसमेत असुल हुने’ उल्लेख छ ।
पशुपतिनाथको जग्गा १९ हजार रोपनी
समितिले पशुपतिनाथ मन्दिरको देशभर १८ हजार ८ हजार ८२ रोपनी १४ आना रहेको तथ्य फेला पारेको छ । कोषको तीनवटै कार्यालयको लगतभित्र दर्ता प्रमाणित भएको जग्गा ४ हजार १८१ रोपनी १३ आना ३.५ पैसा जग्गा छ । पशुपतिको कोर क्षेत्रमा १ सय रोपनी ३ पैसा ३ दाम जग्गा छ ।
२०६४ जेठ ३२ मा २९ रोपनी ७ आना २ पैसा १ दाम जग्गा र २०६२ कात्तिक २२ गते १९ रोपनी १५ आना १ दाम जग्गा अधिग्रहण गरेर पशुपतिको नाम दाखिला गरिएको थियो । गोठाटार क्षेत्रमा ५३४ रोपनी र तारागाउँ रिजेन्सी होटलले चर्चेको १७ रोपनी जग्गा पनि पशुपतिनाथकै हो । पशुपतिको ११२६ रोपनी त्रिभुवन विमानस्थलले प्रयोग गरिरहेको छ । कोषले त्यो जग्गा ९९ वर्षका लागि विमानस्थललाई भोगचलन गर्न दिएको छ ।
२०७० जेठ ३० गते पशुपतिको अतिक्रमित धेरै जग्गा अधिग्रहण गरिएको छ । बी १३ क्षेत्रको ४४ रोपनी १० आना २ पैसा जग्गा अधिग्रहण गरिएको थियो । भण्डारखाल रहेको जंगलको १४६ रोपनी ५ आना ३ पैसा, सिफल चउरको १६ रोपनी ९ आना २ पैसा, कैलाश चउरको ४९ रोपनी १ आना २ पैसा, पशुपतिनाथ मन्दिरको ८ रोपनी ८ आना २ पैसा, बागमती नदी १५ रोपनी ५ आना ३ पैसा, गोरखनाथ मन्दिर सत्तलको ५ रोपनी, ७ आना २ पैसा, १५ शिवालयको ३ रोपनी १ आना, गुह्येश्वरी मन्दिर सत्तलको १६ रोपनी ५ आना जग्गा अधिग्रहण गरिएको थियो ।
विश्वरूप मन्दिर परिसरको ५ रोपनी ४ आना, कोष परिसरको ६८ रोपनी ७ आना २ दाम जग्गा रहेको विवरण प्रतिवेदनमा उल्लेख छ । पशुपतिको सार्वजनिक प्रकृतिको जग्गा ९४६ रोपनी १ आना २ पैसा छ । नेपाल आँखा अस्पतालले ३२ रोपनी जग्गा चर्चेको छ । नेपाल–भारत मैत्री पशुपति धर्मशालाले २० रोपनी जग्गा भोगचलन गरिरहेको छ । महास्नान पोताका नाममा १२४१ रोपनी १ आना २ पैसा जग्गा छ । गुठी संस्थानको नाम १०१५ रोपनी १५ आना १ पैसा छ । अन्नपूर्णपोष्टबाट