Logo

कलिला आँखामा क्यान्सर



काठमाडौं ३१ बैशाख ।  अस्पतालमा छोरी जन्मँदा रविन श्रेष्ठ रमाए। अँध्यारोमा उनले मोबाइलबाटै छोरीको तस्बिर खिचे। छोरीलाई घरमा लगेपछि उनले भिडियो पनि बनाए। छोरी दश दिनकी हुँदा उनको आँखामा सेतो ज्योति देखियो। उनी झस्किए। यसबारे जानकारी लिन गुगल सर्च गरे। उनी तिलगंगा आँखा अस्पताल पुगे। अस्पतालका कन्सल्टेण्ट अकुलोप्लाष्टिक सर्जन डा.बेन लिम्बु समक्ष पुगे। ‘आँखाको अल्ट्रासाउण्ड र सिटीस्क्यान गरेपछि बल्ल रोग पत्ता लाग्यो’, श्रेष्ठले भने।

दुवै आँखामा क्यान्सर (रेटिनोब्लास्टोमा) भएको पुष्टिपछि छोरीको उपचारका लागि भारत गए। नसाबाट औषधि (किमोथेरापी) दिइयो। ‘उपचारपछि अहिले छोरी स्वस्थ्य छिन्। एक कक्षामा पढ्दै छिन्’, श्रेष्ठले खुसी साटे।

आशिश जोशीकी छोरी पनि आँखाको क्यान्सरविरुद्ध जुध्दैछिन्। तीन महिना हुँदा आँखा रातो भयो। पानी आइरह्यो। उनी पनि तिलगंगा आँखा अस्पताल पुगे। अकुलर अंकोलोजिस्ट एवं अकुलोप्लाष्टिक सर्जन डा. पूर्णिमा राजकर्णीकार स्थापितले रेटिनोब्लास्टोमा भएको बताइन्।

दुई वर्षकी छोरीको उपचार गराइरहेका जोशीले भने, ‘छोरीको दृष्टि क्षमता फर्कने सक्ने चिकित्सकले बताएका छन्।’

विगतमा आँखा फालेर भए पनि जीवन बचाउनुलाई ठूलो मानिन्थ्यो। अहिले आँखा बचाउन सकिने मात्र होइन दृष्टि बचाउन सकिनेसम्मको अवस्था आइसकेको चिकित्सक बताउँछन्।

बालबालिकामा हुने आँखाको क्यान्सर नै रेटिनोब्लास्टोमा भएको चिकित्सकको भनाइ छ। अकुलोप्लाष्टिक सर्जन डा.स्थापितका अनुसार, करिब १५ हजार नवजात शिशुमध्ये एक जनामा यो रोग देखा पर्न सक्छ। नेपालमा कति बालबालिका रेटिनोब्लास्टोमाबाट पीडित छन् भन्ने बारे यकिन तथ्यांक छैन। पाँच वर्ष मुनिका बालबालिकालाई यो क्यान्सरले सताएको छ। तीमध्ये ९० प्रतिशत तीन वर्ष उमेर नपुग्दै देखा पर्छ। ‘उपचार नगर्दा ९९ प्रतिशतको मृत्यु हुन्छ’, डा.स्थापितले भनिन्।

आँखा रोग विशेषज्ञका अनुसार यो रोग वंशाणुगत पनि हुन सक्छ। यो क्यान्सर आँखाको भित्री भाग (रेटिना)बाट पलाउने र अन्ततः आँखाको पूर्ण भागमा फैलिएर अन्धोपन निम्त्याउन सक्छ।

कन्सल्टेन्ट अकुलोप्लाष्टिक सर्जन डा.वेन लिम्बुका अनुसार, उपचारमा सजगता नदेखाएको अवस्थामा शरीरको अन्य भागमा समेत फैलिएर ज्यान समेत जान सक्छ।

आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेता ज्योति (सेतो टीका) देखिने, असामान्यरूपमा आँखा रातो हुने, आँखाको आकार ठूलो हुने, आँखाको डेढोपनाका रूपमा यो रोग देखा पर्दछ। रेटिनोब्लास्टोमा रोगबाट प्रभावित भएका बाबुआमाका सन्तानलाई रोग लाग्ने सम्भावना बढी हुन्छ। पाँच वर्ष मुनिका कुनै पनि बालबालिकामा यो रोग देखा पर्न सक्ने डा. लिम्बु बताउँछन्। यो रोगले बच्चाको एक वा दुवै आँखा प्रभावित पार्न सक्छ। तर धेरैजसो बालबालिकामा एउटा मात्र आँखामा असर गरेको पाइएको छ।

आँखा रोग विशेषज्ञद्वारा आँखामा पर्दाको जाँच गरी यो रोग पत्ता लगाउन सकिन्छ। रेटिनोब्लास्टोमा भए अब उपचारका लागि विदेसिनु पर्दैन। दुई वर्षदेखि तिलगंगा आँखा अस्पतालमा रेटिनोब्लास्टोमाको उपचार सेवा सुरु गरिएको छ। लेजर, क्रायोथेरापी, केमोथेरापी तथा रेडियोथेरापी विधिद्वारा यसको उपचार गरिन्छ। जटिल अवस्थमा पुगेका बिरामी निको पार्न कठिन हुन्छ। यस्ता बिरामीलाई शल्यक्रियाद्वारा आँखाको डल्लो नै निकाल्नु पर्ने डा.लिम्बुको भनाइ छ।

आँखाको डल्लो निकालेपछि प्लाष्टिकको कृत्रिम आँखा राखेर आँखाको सौन्दर्य कायम गर्न सकिन्छ। अस्पतालकी अकुलोप्लाष्टिक सर्जन डा.स्थापितका अनुसार, गत वर्ष रेटिनोब्लास्टोमा भएका ४५ जना बालबालिका उपचारका लागि आएका थिए। तीमध्ये १० जना बालबालिकाको दुवै आँखामा रेटिनोब्लास्टोमा देखिएको थियो। ‘अट्ठाइस महिनाको बच्चा लिएर रेटिनोब्लास्टोमाको उपचारको लागि आउनु भएको छ’, डा. स्थापितले भनिन्।

उपचार गराएकामध्ये अधिकांश पाँचवर्ष मुनिका छन्। सिरहा, सर्लाही, बाँके, कैलाली, सुनसरी भोजपुर, गोरखा, जनकपुर, ताप्लेजुङलगायतका जिल्लामा जन्मेका बालबालिकामा रेटिनोब्लास्टोमा देखिएको थियो। अन्नपूर्णपोष्टबाट



प्रतिक्रिया दिनुहोस्