उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाल विश्वकोे धार्मिक अस्थाको केन्द्र भएकोे बताउनुभएको छ । ‘यदुवंशी उत्थान समाज नेपाल’ले हरिपुर नगरपालिका–४ स्थित हरैयामा निर्माण गर्न लागेको कृष्ण मन्दिरको आज शिलान्याश गर्दै उहाँले हिन्दू धर्मावलम्बीका लागि आस्थाको केन्द्र जानकी मन्दिर, पशुपतिनाथ र मुक्तिनाथ रहेको छ भने बौद्ध धर्मावलम्बीका लागि शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बनी पनि नेपालमै रहेको बताउनुभयो ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधिताले भरिपूर्ण भएको मुलुक भएको बताउँदै उपराष्ट्रपति पुनले भन्नुभयो, “संविधानले प्रत्येक व्यक्तिलाई आफ्नो अस्थाअनुसारको धर्म अवलम्बन गर्ने स्वतन्त्रता दिएको छ तर कसैले धर्म परिवर्तन गराउन बाध्य पार्न पाउँदैन ।”
धार्मिक सद्भाव, एकता र पारस्परिक हितअनुरुप बलियो राष्ट्रिय एकता आजको आवश्यकता भएको बताउँदै उहाँले धार्मिकस्थलको प्रचारप्रसार गरी पर्यटकलाई आकर्षण गर्नसके आर्थिक समृद्धि ल्याउन सकिने धारणा राख्नुभयो ।
सो अवसरमा उपराष्ट्रपति पुनलाई आयोजक यदुवंशी उत्थान समाज नेपालले नागरिक अभिनन्दनसमेत गरेको थियो । कार्यक्रममा मिथिला–मधेशको धार्मिक तथा ऐतिहासिक भिझिँया नाच प्रस्तुत गरिएको थियो । रासस