Logo

आणविक सम्झौतालाई बचाउन इरानको आग्रह



इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौतालाई सुरक्षित गर्न चीन र रूसको तर्फबाट ‘ठोस पहल’ गर्न आवश्यक रहेको इरानी विदेशमन्त्री मोहम्मद जावेद जरीफले शुक्रबार बताउनुभएको छ ।

उहाँले अमेरिका र इरानबीचको बढ्दो तनावले ‘खतरनाक’ परिस्थिति निम्त्याउन सक्ने चेतावनी उहाँले दिनुभयो ।

इरानबाट सुरक्षा खतरा भएको दावी गर्दै अमेरिकाले गत हप्ता खाडी क्षेत्रमा अमेरिकी वमबर्षक विमान बी–५२ तैनाद गरेपछि अमेरिका र इरानबीचको तनावले थप चर्को रूप लिएको हो ।

बेइजिङ भ्रमणका क्रममा इरानी विदेशमन्त्री जरीफले आफूले चिनियाँ अधिकारीसँग “द्विपक्षीय सम्बन्ध तथा मध्यपूर्व क्षेत्रमा अहिले देखिएका ‘निकै खतरनाक बिषय’ बारे वार्ता गर्ने” बताउनुभएको इरानी विदेश मन्त्रालयको वेवसाइटमा उल्लेख गरिएको थियो ।

रणनीतिक हिसाबले विश्वकै महत्वपूर्ण जलमार्ग मध्यपूर्वमा इरानले साना तथा परम्परागत डुङ्गाहरूमा इरानले क्षेप्यास्त्रलाई तयारी अवस्थामा राखेको तस्वीर भेटिएको जनाउँदै वासिङ्टनले खाडी क्षेत्रमा धेरै सैन्य समूह तैनाद गरेको समाचारमा जनाइएको छ ।

अमेरिकी विदेश विभागले गत बुधबार इराकस्थित आफ्नो राजदूतावास तथा महाबाणिज्य दूतावासमा इरानी निर्देशनमा शिया लडाकूले आक्रमण गर्नसक्ने भन्दै कार्यालय खाली गरी धेरैजसो अधिकारीलाई अन्यत्र लग्न निर्देशन दिएको थियो ।

इरानले बिहीबार अमेरिकासँग वार्ता नगर्ने बताएको थियो तर उसले आफ्नो पक्षबाट ‘अधिकतम लचकता’ देखाएको बताएको थियो ।

मध्यपूर्वमा बढ्दो तनावबीच इरानी विदेशमन्त्री जरीफले अन्तर्राष्ट्रिय समुदायसँग ‘जोइन्ट कम्प्रेहेन्सिभ प्लान अफ एक्सन–२०१५’ नामक आणविक सम्झौतालाई जोगाउन आग्रह गर्नुभएको छ ।

सम्झौता चीन, रूस, जमर्नी, बेलायत, फ्रान्स र संयुक्त राज्य अमेरिकासँग पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाको पहलमा गरिएको थियो । जसका कारण इरानमाथि त्यस पहिले लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धलाई विस्तारै सहज बनाउँदै लगिएको थियो ।

तर गत बर्ष अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता अमेरिकालाई मान्य नहुने भन्दै यसबाट फिर्ता भएको घोषणा गर्नुभएको थियो । सम्झौताबाट फिर्ता भएसँगै अमेरिकाले इरानमाथि लगाउँदै आएको प्रतिबन्धका साथै थप नयाँ प्रतिबन्धको समेत घोषणा गरेको छ । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot