Logo

‘प्रहरी कार्यालयको वातावरण नागरिकमैत्री हुनुपर्ने’



प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी कार्यालयको वातावरण सदैव नागरिकमैत्री हुनुपर्ने बताउनुभएको छ । महानगरीय प्रहरी वृत्त गौशालाको आज आकस्मिक निरीक्षणपछि वृत्तमा कार्यरत प्रहरी अधिकृत तथा जवानलाई निर्देशन दिंँदै उहाँले सेवाग्राहीलाई छिटोछरितो सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।

“हरेक सेवाग्राहीलाई प्रहरीको सेवा प्रवाह राम्रो रहेको महसुस हुनेगरी उत्कृष्ट काम गर्नुपर्छ, अपराधविरुद्ध कानूनी कठोरता अपनाउनुपर्छ,” उहाँले भन्नुभयो, “उहाँले समुदाय–प्रहरी साझेदारी कार्यक्रमका मूल्यमान्यता अनुरुप सेवाग्राहीलाई त्यसको उपादेयता महसुस हुनेगरी काम गर्न र समुदायसँग सहकार्य गर्दै अगाडि बढ्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो ।

यसैबीच महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले सामाजिक सञ्जालको दुरुपयोगले सामाजिक विकृति तथा आपराधिक गतिविधि बढेको चर्चा गर्दै यस्ता विकृति हटाउन प्रहरीले समुदाय– प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताउनुभयो ।

महानगरीय प्रहरी वृत्त कमलपोखरी, सामुदायिक सेवा केन्द्र नक्साल, कालोफुल र टुँडालदेवीको संयुक्त आयोजनामा नक्सालमा आयोजित अन्तर्त्रिया कार्यक्रममा उहाँले अपराधको प्रवृत्ति परिवर्तन भइरहेको सन्दर्भमा यस्ता अपराध नियन्त्रण गर्न समुदायको पनि सहयोग प्राप्त भएमा थप सफलता हासिल गर्न सकिनेमा जोड दिनुभयो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आजै कपनस्थित त्रि–ज्योति माविमा प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत छलफल तथा भृकुटीमण्डपमा लैङ्गिक हिंसा रोकथामका विषयमा अन्तर्क्रिया गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्