नेपाली काङ्ग्रेका सभापति शेरबहादुर देउवाले सरकारले जनताको पक्षमा कुनै ठोस काम गर्न नसकेको आरोप लगाउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकारको काम कारवाहीबाट जनतामा निराशा छाएको छ भन्नुभयो ।
सभापति देउवाले प्रेस स्वतन्त्रतामा अङ्कुश लगाउने तथा मानवअधिकार कुण्ठित हुने गरी संसद्मा ल्याएका विधेयकहरु काङ्ग्रेसले पारित हुन नदिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘प्रेस र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ । जबर्जस्ती गर्न खोजे कुनै पनि हालतमा पारित हुन दिँदैनौं ।’’
सरकारले ल्याउने बजेट विपक्षी दलसँगको छलफल एवं सहमतिमा ल्याउनुपर्नेमा जोड दिँदै उहाँले एक पक्षीय ढङ्गले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे आफूहरुलाई मान्य नहुने बताउनुभयो । पूर्व प्रधानमन्त्री देउवाले नेपाली काङ्ग्रेसले सदनमा प्रतिपक्षको प्रभावकारी भूमिका खेलेको पनि उल्लेख गर्नुभयो ।
सभापति देउवाले पार्टीको महाधिवेशन समयमै हुने र काङ्ग्रेसको जागरण अभियानले देशभर जनतामा राम्रो सन्देश गएको बताउँदै यसबाट पार्टीलाई नयाँ जोश र थप ऊर्जा प्राप्त भएको विचार व्यक्त गर्नुभयो ।रासस