Logo

सस्‌को बोतलभित्र सुर्तीको खोल



म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो ।

अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिनुभयो । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन । ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ ।

म्याग्दीका ग्रामिण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ । सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक महीनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ ।
खबरामा नदी नियन्त्रण योजना निर्माण
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा नदी नियन्त्रण योजना निर्माण भएको छ । रुपाताल एकीकृत संरक्षण परियोजनाको सहयोगमा उपभोक्ता समितिमार्फत् म्याग्दी र कालीगण्डकी नदीको कटानको चपेटामा परेको खबरामा ग्याबियन पर्खाल निर्माण गरिएको हो ।
कालीगण्डकी र म्याग्दी नदीको दोभान आसपासका क्षेत्रमा १५० मिटर दूरीमा ४०० थान ग्याबियन पर्खाल निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष कमल सुवेदीले जानकारी दिनुभयो । पहिलो चरणमा ३०० थान ग्याबियन पर्खाल लगाउन रु ४० लाखमा सम्झौता भएकोमा कार्यालयको सहमतिमा थप १०० थान ग्याबियन लगाएको अध्यक्ष सुवेदीले बताउनुभयो । कूल लागतको दश प्रतिशत जनसहभागितामा योजना निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।

पर्खाल निर्माण भएपछि खबराको कटान र भसभसेको पहिरो नियन्त्रणमा सहयोग पुगेको छ । करीब १०० घरधुरी र खबरास्थित कारागार शाखा म्याग्दीको संरक्षणका लागि तटबन्ध गरिएको हो ।

बेनी बजार संरक्षण आयोजनाअन्तर्गतनै खबरामा पनि नदी नियन्त्रणको काम गरिएको उपभोक्ता समितिले जनाएको छ । बेनी बजार संरक्षणका क्रममा कालीगण्डकीबाट ढुङ्गा निकालिँदा खबरामा कटानको जोखिम बढेको भन्दै स्थानीयले योजना माग गरेका थिए ।

स्थानीयवासीको माग र आवश्यकताका आधारमा परियोजनाले तटबन्ध बनाउन बजेट व्यवस्थापन गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot