सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । सभामुख कृष्णबहादुर महराले सभाको आजको बैठक शुरु गर्नेबित्तिकै राष्ट्रिय जनता पार्टी ९राजपा० सांसदहरुले उठेर विरोध जनाएपछि सांसद चन्दा चौधरीलाई बोल्न दिइएको थियो ।
सांसद चौधरीले तराई–मधेश आन्दोलनमा विभिन्न व्यक्तिमाथि लगाइएको झुठा मुद्दा खारेज र संविधान संशोधन गर्नुपर्ने राजपाको माग सम्बोधन हुनुपर्ने बताउँदै पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठन भएको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्नुभयो । यथाशीघ्र सार्वजनिक नगरिए फेरि राजपा आन्दोलनमा उत्रन बाध्य हुने उहाँले बताउनुभयो ।
सभाको शून्य समयमा सांसद अतहरकमाल मुसलमानले नर्स आन्दोलनमा उत्रँदा धेरै स्वास्थ्य संस्थामा समस्या आएकाले त्यसको समाधान गर्नुपर्ने माग गर्नुभयो । सांसद अनिलकुमार झाले अस्थायी र राहत कोटाका शिक्षकको माग पूरा गर्न सरकारसँग माग गर्नुभयो । सांसद अमरेशकुमार सिंहले उखु किसानले मूल्य नपाएको उल्लेख गर्दै कसको मिलिभगतमा पीडित भएका हुन् भनी प्रश्न गर्नुभयो ।
सांसद आशाकुमारी विकले सुदूरपश्चिमको गौरवको आयोजनाको कार्यप्रगति कछुवा गतिमा भएकाले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिनुभयो । सांसद उमेशकुमार श्रेष्ठले शिक्षकको खाली दरबन्दी पूर्ति गर्न माग गर्नुभयो । सांसद एकवाल मियाँले बारा जिल्लामा हावाहुरीले भत्किएका घर छुटेकाले पुनःसर्वेक्षण गर्न माग गर्नुभयो । सांसद खगराज अधिकारीले कालिगण्डकी सिँचाइ आयोजना निर्माणमा भएको ढिलाइको जवाफ माग गर्नुभयो ।
सांसद गजेन्द्रबहादुर महतले जग्गा अतिक्रमण गर्ने कर्मचारी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कर्मचारीको मिलेमतोमा दोषीलाई उम्काउन खोजिएकाले यसतर्फ सरकारलाई सचेत गराउनुभयो ।
सांसद घनश्याम खतिवडाले वास्तविक किसानलाई अनुदान मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद जीपछिरिङ लामाले माथिल्लो तामाकोशीको बाँकी सुरुङ मार्ग बनाउन आगामी आर्थिक वर्षमा बजेट छुट्याउन माग गर्नुभयो । रासस