Logo

अनुसन्धानमा प्रविधिको प्रयोग बढाउनुपर्छः गृहमन्त्री



गृहमन्त्री रामबहादुर थापाले अनुसन्धानमा प्रविधिको प्रयोग बढाउन आवश्यक रहेको बताउनुभएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा आज आयोजित ‘रणनीतिक तथा नेतृत्व विकास तालीम’को समापन कार्यक्रममा उहाँले विज्ञान प्रविधिको प्रयोग गरी आपराधिक घटना बढिरहेकाले त्यसलाई निस्तेज पार्न अनुसन्धानमा पनि प्रविधि प्रयोग बढाउनुपर्ने बताउनुभएको हो ।

“अपराधीले प्रविधिको उच्च प्रयोग गर्दै आपराधिक क्रियाकलाप गर्दै आएका र त्यस्ता आपराधिक गतिविधिलाई निस्तेज गर्न प्रविधिको विकास गर्दै प्रविधिसम्बन्धी ज्ञान तथा सीपलगायतका विषयहरु तालीममा समावेश गर्नुपर्छ,” उहाँले भन्नुभयो । उच्च प्रविधिको ज्ञान सँगसँगै सुरक्षाका जिम्मेवारीलाई वहन गर्न इमान्दारी र अनुशासन अनिवार्य रहेको उहाँको भनाइ थियो ।

गृहमन्त्री थापाले तालीमबाट प्राप्त नेतृत्व विकाससम्बन्धी सिद्धान्त तथा विविध ज्ञानले देश र जनताको सुरक्षामा महत्वपूर्ण योगदान मिल्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशको अर्थतन्त्रको रक्षा र विकास गर्न आर्थिक अपराधमा संलग्न तस्कर, भ्रष्टाचारीलाई नियन्त्रण एवं निस्तेज पार्न जरुरी रहेको बताउनुभयो ।

गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरुमा निखार ल्याउनका लागि तालीम सञ्चालन गरिएको उल्लेख गर्दै आउँदा दिनमा यस्ता तालीमलाई निरन्तर रुपमा सञ्चालन गरिने जानकारी गराउनुभयो ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मुलुकमा सीमावर्ती अपराध, प्रविधिको दुरुपयोगबाट सिर्जित अपराध एवं राष्ट्रिय सुरक्षाका विषयमा विभिन्न चुनौतीको सामना गर्न सबै सुरक्षा संयन्त्रले एकिकृत रुपमा समन्वय गर्दै कार्ययोजना निर्माण गर्न आवश्यक रहेकामा जोड दिनुभयो ।

तालीममा राष्ट्रिय अनुसन्धान विभागका सात सह–अनुसन्धान निर्देशक र १८ उप–अनुसन्धान निर्देशकको सहभागिता रहेको थियो ।रासस



प्रतिक्रिया दिनुहोस्