Logo

जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा



नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणले पार्टीको जागरण अभियानले पार्टीभित्र नयाँ ऊर्जा थपिएको बताउनुभएको छ ।काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ ले ‘हिमाल, पहाड तराई–मधेश राष्ट्रिय जागरण अभियान’का क्रममा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जागरण अभियानले काङ्ग्रेसको सङ्गठन सुदृढीकरणमा सहयोग पुग्ने बताउनुभएको हो । “जागरण अभियानले नेता तथा कार्यकर्तामा उत्साह जागेको छ, यो उत्साहलाई आगामी निर्वाचनसम्म लैजानुपर्छ”, उहाँले भन्नुभयो ।

नेता खाँणले पार्टीको आन्तरिक निर्वाचनमा पराजित उम्मेदवारले पार्टीभित्र भाग खोज्ने प्रवृत्तिले पार्टीलाई झन कमजोर बनाउँदै लगेको बताउनुभयो । “पराजित व्यक्तिले विजयी उम्मेदवारलाई सघाएर अगाडि बढेमात्र पार्टी बलियो हुन्छ”, उहाँले भन्नुभयो ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक खाँणले वर्तमान सरकार हरेक क्षेत्रमा निरङ्कुश बन्दै गएको आरोप लगाउनुभयो । वर्तमान सरकार संविधान विपरीत काम गर्न उद्धृत रहेको उहाँको भनाइ थियो ।

काङ्ग्रेस काठमाडौँका सभापति सबुज बानियाँले जागरण अभियानलाई काठमाडौँका सबै निर्वाचन क्षेत्रमा लैजाने गरी काठमाडौँ काङ्ग्रेसले काम गर्ने बताउनुभयो । “पार्टीका नेता तथा कार्यकर्तालाई जागरुक गराउन जागरण अभियानले महत्वपूर्ण भूमिका खेल्नेछ”, उहाँले भन्नुभयो ।

काङ्ग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापति मुकुन्द रिजालले पार्टीभित्र देखिएको गुट उपगुट अन्त्य गर्न जागरण अभियानले महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । जागरण अभियानलाई सबै वडामा लैजाने उहाँको भनाइ थियो । रासस



प्रतिक्रिया दिनुहोस्