Logo

नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं ९ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको अभियोगमा बुधबार ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, पर्वतको कटुवाचौपारी गुणस्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको परियोजनामा हुँदै नभएको काम गरेको देखाई करिब सवा ५ लाख रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएकाले इन्जिनियर प्रेमबहादुर थापासहित ५ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

परियोजनाका डिभिजनल इन्जिनियर अमोध धिताल, खानेपानी उपभोक्ता समितिका अध्यक्ष नारायण शर्मा लामिछाने, सचिव सुरेशबहादुर पीसी र कोषाध्यक्ष दिवाकर शर्मासमेत विरुद्ध मुद्दा दायर गरिएको हो । उनीहरूलाई बिगो बराबर जरिवाना र जेल सजाय गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ । मुद्दा दायर भएसँगै थापा र धिताल सेवाबाट निलम्बित भएका छन् ।

अख्तियारले श्री समयनाथ उच्च माध्यमिक विद्यालय, कपिलवस्तुका तत्कालीन प्रधानाध्यापक थानेश्वर खनालसहित ४ जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयलाई विभिन्न स्रोतबाट प्राप्त ६ लाख ७ हजार रुपैयाँ हिनामिना गरेको पुष्टि भएकाले खनालसहित व्यवस्थापन समिति अध्यक्ष छविलाल भुसाल, प्रधानाध्यापक गिरीराज गैरे र शिक्षक दधिराम न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । चारै जनाविरुद्ध बिगो बराबर जरिवाना र जेल सजाय गर्न मागदाबी गरिएको छ । मुद्दा दायर भएसँगै खनाल, गैरे र न्यौपाने सेवाबाट निलम्बित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot