Logo

शान्ति सुरक्षा सुदृढः गृहमन्त्री थापा



गृहमन्त्री रामबहादुर थापाले ‘विप्लव’ समूहको मूल निशाना उपत्यका बनेकाले शान्ति सुरक्षाको अवस्था सुदृढ बनाइएको बताउनुभएको छ ।
सङ्घीय संसद् प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिनुहुँदै उहाँले आइतबार राजधानीका विभिन्न स्थानमा भएका विष्फोटमा परी चार जनाको मृत्यु भएको र ती सबै सामान्य नागरिक नभइ घटनामा संलग्नहरु नै रहेको बताउनुभयो ।

मन्त्री थापाले सो घटनामा घाइते भएकाको वीर अस्पताललगायत राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको जानकारी पनि दिनुभयो । “काठमाडौँ महानगरपालिका–३२ नरेफाँटस्थित बुद्धिबहादुर सुनारको कोठामा खानतलासी गर्दा प्रहरीले बाँसका भाटा, ‘विप्लव’ समूहका पर्चा, मोटरसाइकलसहित सात जनालाई नियन्त्रणमा लिइएको छ, विभिन्न जिल्लामा शङ्कास्पद वस्तु भेटिएकामा निष्क्रिय पारी स्थिति नियन्त्रणमा लिइएको छ”–उहाँले भन्नुभयो ।

जेठ ६ गते राति पाँचथरको मिक्लाजुङ गाउँपालिकामा नौ जनाको धारिलो हतियार प्रयोग भएको, एक जनाले आत्महत्या गरेको घटनाका विषयमा वरिष्ठ प्रहरी उपरीक्षकको नेतृत्वमा टोली खटिइ अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

मन्त्री थापाले दार्चुलामा वृद्ध महिलाको निधन भएको घटनामा शङ्कास्पद एकजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

मन्त्री थापाको वक्तव्यपछि जिज्ञासा राख्नुहुँदै सांसद पुष्पा भुसालले सरकार र नेकपा विप्लव समूहले हठ नत्याग्ने हो भने कसरी शान्ति सुरक्षा हुन्छ, मृतक नागरिक होइनन् भने को हुन् भन्ने प्रष्ट पार्न आग्रह गर्नुभयो ।

सांसद खगराज अधिकारीले हिंसात्मक गतिविधिलाई नियन्त्रण गर्न वार्ता र संवाद जारी राख्नुपर्ने बताउनुभयो । सांसद प्रेम सुवालले शान्ति सुरक्षाको अवस्था नाजुक रहेकाले प्रत्याभूत हुने गरी व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो ।

सांसद देवेन्द्रराज कँडेलले १० वर्षे सशस्त्रद्वन्द्वका क्रममा सरकारले गरेको काम उचित थियो भन्ने वर्तमान सरकारले प्रमाणित गरेको बताउनुभयो । पहिले राजनीतिक माग राखेर विभिन्न घटनामा परी मर्ने नागरिक हुने र आज नहुने कस्तो परिभाषा हो भनी उहाँले प्रश्न गर्नुभयो ।

सांसद महेश बस्नेतले पाँचथर घटनाका दोषीलाई कारवाही गर्नुपर्ने बताउनुभयो । सांसद राजेन्द्रकुमार केसीले आइतबारको घटनाले राजधानीका जनता आतङ्कित भई आज विद्यालय बन्द रहेकाले कसरी शान्ति सुरक्षा छ भन्नुहुन्छ भनी गृहमन्त्री थापासँग प्रश्न गर्नुभयो ।

सांसद लक्ष्मी परियारले आइतबारको विष्फोटमा परी मारिनेहरु नेपाली नागरिक नभए कहाँका हुन्, त्यसको जवाफ माग गर्नुभयो । “हामीले प्रश्न गर्दा सत्तापक्षका सांसदले उत्तर दिनेकि गृहमन्त्रीले”– उहाँको प्रश्न थियो ।

सांसद अमरेशकुमार सिंह र पार्वती डसी चौधरीले नेपाल बन्दका कारण सडकमा सवारी चाप कम भएकाले छिटो संसद्मा आएको उल्लेख गर्नुहुँदै जनजीवन सामान्य नरहेकाले शान्ति सुरक्षामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मर्नेहरु नागरिक नै नभएका हुन् कि मरेपछि नागरिक नभएका हुन् भन्ने जिज्ञासा पनि उहाँहरुले राख्नुभएको थियो । सांसद रङ्गमती शाही र भरतकुमार शाहले डर र त्रास हटाउन नसकेकाले शान्ति सुरक्षाका मामलामा सरकार पूर्णरुपमा फेल भएको बताउनुभयो । शान्ति सुरक्षा नै नभएपछि कसरी विकास र समृद्धिको सरकारी नारा पूरा हुन्छ भन्ने उहाँहरुको जिज्ञासा थियो ।

सांसद शरदसिंह भण्डारीले राजनीतिक समस्या छ भन्ने प्रष्ट हुँदाहुँदै सरकारले समाधान नगर्दा आइतबारको घटना भएको बताउनुभयो । सांसद मीना सुब्बाले पाँचथरमा ढाकाको तालीममा खाजामा सिसा मिसाइएकोमा अनुसन्धान गरी कारवाही नहुँदा नौ जनाको हत्या भएकाले साना घटनामा राम्र्ररी अनुसन्धान गरी दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याइनुपर्ने बताउनुभयो ।
सांसद महेन्द्रकुमारी लिम्बूले निर्मला पन्तका हत्यारा र ३३ केजी सुनका दोषीलाई कारवाही गरे भनेजस्तो आइतबारको घटनामा नहोस् भन्नुभयो ।

सांसद उमा रेग्मी, देवप्रसाद तिमल्सिना र सुजाता परियारले विप्लव समूहलाई वार्तामा ल्याएर समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भएको साङ्घातिक हमलामा दुई जनाको निधन भइसकेकाले संलग्नलाई कारवाही गरी घाइते बालकको उपचार गर्न माग गर्नुभयो ।
सांसद लक्ष्मणलाल कर्णले वार्ता चलिरहेको भनी गृहमन्त्रीले भन्नुभएकामा आइतबारको घटना त्यसकै परिणाम हो कि होइन भनी प्रश्न गर्नुभयो । पूर्वन्यायाधीश गिरीशचन्द्रलाल संयोजकत्वको कार्यदलको प्रतिवेदन छिटो सार्वजनिक गर्न पनि उहाँले माग गर्नुभयो ।
सांसद डा मीनेन्द्र रिजालले सरकारले हठ र विप्लव समूहले हिंसा छोडे भने देशमा शान्ति सुरक्षा कायम हुने बताउनुभयो । सांसदका प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री थापाले शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको दाबी गर्नुभयो ।

“विष्फोटमा मारिएका सामान्य नागरिक होइनन्, जनता होइनन्, घटना गराउने हुन्, घटना गराउने बम बनाउने क्रममा प्राविधिक त्रुटीले मरेका हुन्, गिरफ्तार भएका प्रमाणसहित पक्राउ परेका छन्”–उहाँले भन्नुभयो ।

सबै घटनामा घाइते भएकालाई सरकारले उपचारको व्यवस्था मिलाएको उल्लेख गर्नुहुँदै मन्त्री थापाले पूर्वन्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा गठित आयोगको प्रतिवेदन अध्ययन भइरहेकाले उचित समयमा सार्वजनिक गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सांसद देवेन्द्रराज कँडेलले प्रतिप्रश्न गर्नुहुँदै मरेका जति सबै नागरिक होइनन् भन्ने अभिव्यक्ति दिँदा पूर्वघटना सम्झन गृहमन्त्रीलाई आग्रह गर्नुभएको थियो । रासस तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्