Logo

प्रस्ताव स्वीकृत



काठमाडौँ, १३ जेठ । ‘गुठी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भएको छ । राष्ट्रियसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेश गर्नुभएको थियो ।

सो विधेयकमाथिको सैद्धान्तिक छलफलपछि प्रस्ताव बहुमतले स्वीकृत भएको हो । सांसद अनिता देवकोटाले निजी गुठीलाई प्राधिकरणको रूपमा भन्दा पनि निजी गुठीकै रूपमा व्यवस्थापन गर्दा सबैको धर्म संस्कृतिलाई सम्मान गर्न सकिने बताउनुभयो ।

सांसद राधेश्याम अधिकारीले संविधानको मर्मअनुसार विधेयक ल्याउनुपर्ने माग गर्नुभयो । गुठीले नेपालको सभ्यता र कलाको संरक्षण गर्दै आएको बताउँदै वास्तविक गुठीको समस्या बुझेर मात्र विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद रमेशप्रसाद यादवले नेपालका मठमन्दिर र गुम्बा व्यक्तिको अधीनमा कब्जा हुँदा देशैभरि गुठी जग्गाको दुरुपयोग भइरहेको छ भन्नुभयो । छलफलमा भाग लिँदै सांसद दिलकुमारी थापा रावल, उदया शर्मा पौड्याल, ठगेन्द्र प्रकाश पुरी र जीवन बुढाले गुठीसम्बन्धी विधेयकले सम्बन्धित सबै विषयलाई समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

मन्त्री अर्यालले सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै विधेयकले मुख्यगरी प्राधिकरण गठन, मठ–मन्दिरसम्बन्धी व्यवस्था, मोहियानीसम्बन्धी हक, निजी गुठी व्यवस्थापनसम्बन्धी विषयलाई जोड दिएको बताउनुभयो । उहाँले गुठी जग्गाको ठिक ढङ्गले उपयोग गर्ने र उत्पादनमुखी बनाउन शक्तिशाली आयोग गठन गर्नेसमेत बताउनुभयो ।
रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot