Logo

साठी हजार किमी सडक निर्माण सम्पन्न



आर्थिक वर्ष २०७५÷७६ को फागुनसम्ममा ६० हजार १६२ किलोमिटर सडक निर्माण सम्पन्न गरिएको छ । अघिल्लो वर्ष करीब ३० हजार किमी सडक निर्माण भएकामा यो वर्ष करीब दोब्बर सडक निर्माण भएको हो ।

सङ्घीय संसद्मा प्रस्तुत भएको आर्थिक सर्वेक्षणअनुसार यो वर्ष कालोपत्र, ग्राभेल र ट्र्याक खोल्ने समेत गरेर ६० हजारभन्दा बढी लम्बाइमा सडक निर्माण भएको हो । चालू आवको फागुनसम्ममा तीन हजार ९४६ किलोमिटर सडक कालोपत्र गरिएको छ । ग्राभेल सडक १३ हजार १५१ किलोमिटर र कच्ची सडक ४३ हजार ६६ किलोमिटर रहेको सर्वेक्षणमा उल्लेख छ । हुम्ला सदरमुकामबाहेक अरू सबै जिल्ला सदरमुकाम सडक सञ्जालमा जोडिसकेका छन् ।

सरकारले निर्माण गरेका सडकमा कालोपत्र छ दशमलव पाँच प्रतिशत, ग्राभेल २१ दशमलव नौ प्रतिशत र कच्ची सडक निर्माण ७१ दशमलव छ प्रतिशत रहेको छ । स्थानीयस्तरमा निर्माण भएका सडकमा ट्र्याक खुलेको र ग्राभेलभन्दा कालोपत्र कम रहेको छ । सुरक्षित र गुणस्तरीय सडकको पहुँचमा अभिवृद्धि गर्न अहिले भएका कच्ची सडकलाई स्तरोन्नति गर्नुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रदेशअनुसार हेर्दा प्रदेश नं ३ मा सबैभन्दा बढी र कर्णाली प्रदेशमा सबैभन्दा कम सडक निर्माण भएको प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा प्रदेश नं ३ मा २५ दशमलव एक प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा चार दशमलव सात प्रतिशत सडक निर्माण सम्पन्न भएको छ ।

भौगोलिक बनावटअनुसार पहाडी क्षेत्रमा सबैभन्दा बढी र हिमाली क्षेत्रमा कम सडक निर्माण भएको पाइन्छ । पहाडी क्षेत्रमा ५४ दशमलव सात प्रतिशत र हिमाली क्षेत्रमा १३ दशमलव सात प्रतिशत सडक निर्माण गरिएको छ । यो अवधिमा तराईमा ३१ दशमलव छ प्रतिशत सडक निर्माण भएको प्रतिवेदनमा उल्लेख छ ।

गत आवभरमा १३ हजार ७०७ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको थियो । सात हजार २३१ किलोमिटर खण्डस्मित ९ग्राभेल० र नौ हजार १५० किलोमिटर ट्र्याक खोलिएको सर्वेक्षणमा उल्लेख छ । फागुनसम्ममा १०९ झोलुङ्गे पुल निर्माण भएका छन् । अहिलेसम्म सरकारले ११८ झोलुङ्गे पुल निर्माण गरेर तुइन विस्थापन गरिसकेको सो सर्वेक्षणमा उललेख छ । रासस



प्रतिक्रिया दिनुहोस्