Logo

इतिहासका अनुभवलाई मनन गर्न अध्यक्ष प्रचण्डको आग्रह



नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मदन भण्डारीको जनताको बहुदलीय जनवाद र माओवादी जनयुद्धको लाइनले नेपाली समाजको परिवर्तनमा ऐतिहासिक भूमिका निर्वाह गरेको बताउनुभएको छ ।

जनपक्षीय पत्रकार कृष्ण सेन ‘इच्छुक’को स्मृति दिवसका अवसर पारेर पत्रकार सङ्गीता खड्काले लेख्नुभएको ‘युद्धका ती दिन, एक पत्रकारको भोगाइ’ पुस्तकको आज सार्वजनिकीकरण गर्दै उहाँले इतिहासका अनुभवलाई बिनाआग्रह र पूर्वाग्रह अध्ययन, चिन्तन र मनन गर्न सम्पूर्ण नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।

नेता कार्यकर्ताले पार्टीको सैद्धान्तिक, वैचारिक विषयलाई आ–आफ्नो ढङ्गबाट व्याख्या गर्न थालेकामा चिन्ता व्यक्त गर्दै उहाँले भन्नुभयो, “विगतको अनुभवलाई बिनाआग्रह, पूर्वाग्रह इमान्दारिताका साथ हेरेर त्यसबाट प्रेरणा लिँदै राम्रा कुराको अनुशरण र कमीकमजोरीलाई सच्याउने जिम्मेवारी नेता कार्यकर्ताको काँधमा आएको छ ।”

माओवादी जनयुद्धले मुलुकको सबैभन्दा पछि परेका वर्ग, जाति, क्षेत्र र समुदायमा राजनीतिक जागरण ल्याउन ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्दै अध्यक्ष दाहालले व्यवस्था परिवर्तनका लागि जनयुद्धले निर्वाह गरेको भूमिका महत्वपूर्ण रहेको विषय एमाले–माओवादी केन्द्र एकता गर्दा लिपिबद्ध गरिएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार पार्ने काममा माओवादी जनयुद्धले नै मुख्य भूमिका खेल्यो भन्ने विषयलाई पार्टी एकताका आधार समेटिएको राजनीतिक प्रतिवेदनमा इमान्दारिताका साथ उल्लेख गरेका छाँै । हामी त्यसमा सहमत भएका छौँ ।”

परिवर्तनका लागि भएका बलिदानलाई बिर्साउने गरी जनयुद्धमा नेपाली समाजको सबैभन्दा पछि परेको वर्गले त्याग गरेको स्मरण गर्दै उहाँले राजधानीमा बस्नेले जनयुद्धको गहिरो इतिहास, मर्म बुझ्न र अनभूति गर्न नसकेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “जनयुद्धमा नेपालले बेवास्ता गरेका व्यक्ति जागेका हुन्, मधेशी, दलित, आदिवासी जनजाति, मुस्लिम, गरीब, मजदूर किसान, महिलाले बन्दुक बोक्ने र लडाइँको मोर्चामा अगाडि सर्ने तथा चरम यातना दिँदा पनि नझुक्ने कीर्तिमान कायम भएको छ ।”

नेपाली समाजको रुपान्तरणका लागि गरिएको जनयुद्धको औचित्य साबित गर्न युद्धका क्रममा जनपक्षीय पत्रकारले खेलेको भूमिका स्मरणीय रहेको बताउँदै उहाँले युद्धमा संलग्न पत्रकारले सो समयमा पार्टीको विचारलाई जनतासमक्ष लैजाने गरेको बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “युद्धका समयमा जनपक्षीय पत्रकारले धेरै राजनीतिक काम गर्नुहुन्थ्यो, पार्टी मुख्यालय र नेतृत्वलाई आन्दोलनको सफलता र राजनीतिक औचित्य सिद्ध गर्न विभिन्न पक्षसँग वार्ता र संवाद गर्न तथा विभिन्न सूचनालाई नेतृत्वसम्म पु¥याउनका लागि परिचालित भएका थिए ।”

जनयुद्धका क्रममा नेपाली समाजले निर्वाह गरेको भूमिका र जनताले गरेको बलिदानको प्रामाणिक तथ्य अझै सार्वजनिक हुन नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले बहुआयामिक जनयुद्धका क्रममा भएको सङ्घर्ष बाहिर ल्याउने प्रक्रिया जारी रहेको बताउनुभयो । प्रेसमाथि कुनै प्रकारको अङ्कुश लगाउने मनसाय राखेर मिडिया काउसिन्सल विधेयक नआएको प्रस्ट पार्दै उहाँले विधेयक पारित हुने अवस्थामा परिमार्जन हुने विश्वास दिलाउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “पत्रकारको जायज चिन्ता सम्बोधन गर्न छलफल अगाडि बढेको छ ।”

सांसद अमृता थापा मगरले जनयुद्धको अनुभूति, विभिन्न पाटो र पक्षलाई संस्थागत गर्न ढिलाइ गर्न नहुनेमा जोड दिँदै सङ्घर्षका क्रममा जनताले गरेको त्यागलाई लिपिबद्ध गर्न बौद्धिक वर्ग पनि अगाडि सर्नुपर्ने बताउनुभयो । प्रेस काउन्सिल नेपालका कावा अध्यक्ष किशोर श्रेष्ठले सशस्त्र द्वन्द्वका समयमा पत्रकारले तत्कालीन राज्य पक्ष र विद्रोही पक्षबाट चुनौती व्यहोर्नु परेको स्मरण गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले जनपक्षीय पत्रकारिता गर्दा भोग्नु परेको साझा भोगाइका रुपमा पुस्तक सार्वजनिक भएको बताउनुभयो । जनयुद्ध, समाज परिवर्तनमा जनताले गरेको योगदानलाई पुस्तकले छर्लङ्ग पारेको बताउनुभयो । पुस्तकका लेखक खड्काले शहीदका बलिदानलाई सबैले भुल्दै गएकामा चिन्ता व्यक्त गर्दै परिवर्तनका पक्षधरका योगदानलाई सबै पुस्तामाझ जानकारी गराउन पुस्तक सार्वजनिक गरेको बताउनुभयो ।

चार खण्डमा विभाजन गरेर लेखिएको पुस्तकमा पहिलो खण्डमा सङ्कटकाल लागेपछि जनपक्षीय पत्रकारिता गर्दा आइपरेको कठिनाइ, दोस्रोमा लेखकको जेलजीवन, तेस्रोमा भूमिगत रेडियो सञ्चालन र चौथोमा तत्कालीन अवस्थामा पार्टीले सञ्चालन गरेको रणनीतिक प्रत्याक्रमणअन्तर्गत गण्डक हमलाका क्रममा जनसेनासँगै मैदानमा उत्रदाँको अनुभवको सङ्ग्रह गरिएको छ । साङ्ग्रिला बुक्सले प्रकाशन गरेको सो पुस्तकको मूल्य रु ३८४ रहेको छ । रासस



प्रतिक्रिया दिनुहोस्