Logo

श्रीलङ्कामा सुरक्षास्थिति सामान्य बनेको राष्ट्रपतिको दावी



गत अप्रिल २१ मा भएको आतङ्कवादी आक्रमणपछि यसमा सम्लग्न समूह तथा व्यक्तिहरूलाई कानूनी दायरामा ल्याइसकिएको दावी श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गर्नुभएको छ ।

उहाँले विदेशी कूटनीतिक नियोगका अधिकारीहरूसँग भन्नुभयो, “श्रीलङ्का अब सुरक्षाका हिसाबले सामान्य अवस्थामा रहेको छ ।”ु

अब भ्रमणका लागि आउने विदेशी पर्यटकका लागि कुनै किसिमको जोखिमको अवस्था नरहेकोले यो सन्देश सम्बन्धित देशबाट यहाँ आउन चाहने पर्यटकलाई सञ्चार गरिदिन आग्रह राष्ट्रपति सिरिसेनाले गर्नुभएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

श्रीलङ्कामा एक महिनाभित्र कडा सङ्कटकालीन कानूनलाई विस्तारै खुकुलो पार्ने राष्ट्रपति मैत्रीपाला सिरिसेनाले सोमबार बताउनुभएको थियो ।

राष्ट्रपति सिरिसेनाले इस्टर वम आक्रमणपछिका हालसम्म आइपुग्दा देशको सुरक्षा अवस्था ‘९९ प्रतिशत सामान्य अवस्थामा पुगेको’ बताउँदै अब सङ्कटकालीन कडा कानूनको औचित्य समाप्त भएको बताउनुभएको हो ।

मैत्रीपाला सिरिसेनाले कोलम्बोस्थित अष्ट्रेलिया, क्यानाडा, जापान, अमेरिका र युरोपेली मुलुकका कूटनीतिज्ञहरूसँग कुरा गर्दै श्रीलङ्काको सुरक्षाकर्मीले गत अप्रिल २१ गते इस्टर पर्वका समय गरिएको आक्रमणमा सहभागी तथा जिम्मेवार सबैलाई सुरक्षा नियन्त्रणमा लिई अनुसन्धान अघि बढाउन सफल भएको बताउनुभएको थियो ।

गत महिनाको बम आक्रमण, जसमा २५८ जनाको मृत्यु र ५०० घाइते भएका थिए, उक्त घटनाका दोषीलाई पक्राउ गर्न र दोषीलाई जेल चलान गर्नका लागि सम्पूर्ण शक्ति सेनामा निहित गर्दै सङ्कटकालको घोषणा गरेको थियो ।

तीन छुट्टाछुट्टै गिर्जाघर र सुविधा सम्पन्न होटेलमा एकै दिनमा गरेको आक्रमणमा स्थानीय जिहादी समूह नेशनल तोहित जमात ९एनटीजे० लाई दोषी ठहर गर्दै आक्रमण पछि उक्त समूहलाई प्रतिबन्ध लगाइएको छ ।

“सङ्कटकाल तत्कालको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै घोषणा गरिएको थियो,” राष्ट्रपतिको कार्यालयले सिरिसेनालाई उद्धृत गर्दै उल्लेख गरेको छ । “तर, थप समय सङ्कटकाल लम्ब्याउनुपर्ने अवस्था नरहेको देखिएको छ ।”

श्रीलङ्काको कानूनानुसार एक पटकमा बढीमा एक महिनाका लागि सङ्कटकाल घोषणा गर्न सकिन्छ । राष्ट्रपतिले सङ्कटकालको अवधिलाई गत मे २२ मा पुनः एक महिनाका लागि भन्दै थप गरिसक्नुभएको छ ।

सिरिसेना, जसले रक्षा, कानून मन्त्रालयको कार्यभार आफैमा निहित राख्नुभएको छ, ले सुरक्षा बललाई पुनः संरचना गरिएको र अब मुलुकमा आतङ्कवादी आक्रमणको सम्भावना नरहेको दाबी उक्त अवसरमा गर्नुभयो ।

सिरिसेनाले दोहो¥याउनुभयो, “आक्रमणमा संलग्न रहेको भेटिएका दोषीहरू कि त मारिएका कि पक्राउ परिसकेका छन् ।”प्रहरीका अनुसार घटनामा संलग्न रहेका १० महिलासहित १०० जनाभन्दा बढी जेल चलान भइसकेका छन् ।

सुरक्षाकर्मीले अरोपित थप १०० जनालाई गत बिहीबारदेखि शुरु भएको चारदिने ‘कर्डन–एण्ड–सर्च’ सुरक्षा अपरेशनमा पक्राउ गरिएको बताएको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot