Logo

सुमार्गीको रकम तत्काल फुकुवा नगर्न परमादेश



काठमाडौं १५ जेठ । सर्वोच्च अदालतले व्यवसायी अजय सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको संयुक्त इजलासले मंगलबार सुमार्गीको विदेशबाट आएको रकम तत्काल फुकुवा नगर्न परमादेश जारी गरेको हो ।

आदेशमा भनिएको छ, ‘निवेदकको कम्पनीका नाममा बैंक खातामा रहेको रकम कानुनबमोजिम रोक्का रहेकाले फुकुवा गर्नुपर्ने अवस्था देखिएन ।’

आदेशसँगै रिट निवेदनसमेत खारेज गरिएको छ । व्यवसायी सुमार्गीले मुक्तिश्री सिमेन्ट इन्डस्ट्रिजका नाममा ल्याएको ७५ मिलियन अमेरिकी डलर (करिब रु ८० करोड) राष्ट्र बैंकले रोक्का गरेको थियो । सो रकम अदालतले तत्काल फुकुवा नगर्ने भनेको हो ।

सर्वोच्चले सो रकमको स्रोत खुलाउनुपर्ने उल्लेख गर्दै आदेशमा भनिएको छ, ‘निवेदकको नाउँको खाताको रकम के–कुन स्रोतबाट आएको हो ? सम्पत्ति शुद्धीकरण ऐन उल्लंघन गरी आएको हो वा होइन ? सम्बन्धित निकायबाट कारबाही गर्नुपर्ने हो वा होइन, सो सम्बन्धमा यकिन निर्णय गर्नू ।’

सर्वोच्चले सुमार्गीको नाममा सुमार्गीकै विदेशमा रहेको खाताबाट रकम आएको राष्ट्र बैंकको पत्रबाट देखिँदा त्यस्तो रकमको वैधताका विषयमासमेत जाँचबुझ गरी ६ महिनाभित्र यकिन निर्णय लिनू भनेको छ ।

आदेशमा सो विषयमा कारबाहीको अन्तिम टुंगो नलागेसम्म प्रत्येक महिना प्रगति विवरण सर्वोच्च अदालतअन्तर्गत् फैसला कार्यान्वयन निर्देशानालयमा पठाउन भनिएको छ ।

यसअघि, तत्कालीन न्यायाधीश दीपकराज जोशीको इजलासले गत पुसमा सुमार्गीको रकम तत्काल नरोक्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि प्रधानन्यायाधीश जबरा र डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि सुमार्गीको रकम रोक्का भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot