Logo

प्रधानमन्त्री ओली भारतीय प्रमको शपथ ग्रहण कार्यक्रममा सरिक



प्रधानमन्त्री केपी शर्मा ओली भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा आज साँझ सरिक हुनुभएको छ । भारतीय जनता पार्टीका नेता मोदीले दोस्रो कार्यकालका लागि आज साँझ भारतीय राष्ट्रपति भवन नयाँ दिल्लीमा प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिनुभएको हो । प्रधानमन्त्री ओली भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा औपचारिक भ्रमणका लागि आज भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो ।

उहाँलाई इन्दिरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा भारतीय विदेश सचिव विजयकेशव गोखलेले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, स्वकीय सचिव राजेश बज्राचार्य पनि हुनुहुन्छ । भारत सरकारले शपथ ग्रहण समारोहमा आमन्त्रित गरेका छिमेकी मुलुकका अतिविशिष्ट आठ अतिथिमध्ये प्रधानमन्त्री ओली एक हुनुहुन्छ । प्रधानमन्त्री ओलीको शुक्रबार भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ताको कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओली शुक्रबार अपराह्न साढे ५ बजे स्वदेश फर्कनुहुने छ । यसअघि भारतको लोकसभाको निर्वाचनमा मोदीको विजयपछि सन् २०१४ मा पहिलो कार्यकालका लागि भएको शपथ ग्रहण समारोहमा सरकार प्रमुखका हैसियतले तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेपालबाट सरिक हुनुभएको थियो ।



प्रतिक्रिया दिनुहोस्