सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले हरेक दिन नयाँ सोच र काम लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताउनभुयो ।
मन्त्री बाँस्काटाले भन्नुभयो, “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक दायाँबायाँ लाग्न मिल्दैन ।” मन्त्री बाँस्कोटाले गत साल विकासको जग बसालियो, यो साल पिल्लर उठ्नेछ र अर्को साल सुन्दर घर बन्नेछ भन्नुभयो । “विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ”, उहाँले भन्नुभयो “आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।”
मन्त्री बाँस्कोटाले विकासको काम कुनै दलविशेष मात्र नहुने बताउनुभयो । एक फरक प्रसङ्गमा उहाँले नेपालमा दुईखाले शिक्षाको आवश्यकता नरहेको बताउँदै सार्वजनिक शिक्षा सुधार भइसकेपछि एकै प्रकारको शिक्षा हुने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “दीर्घकालीन महत्वको सार्वजनिक शिक्षा सुधार भएको दिन, निजी शिक्षा आफैँ निष्क्रिय हुनेछ ।” उहाँले पत्रकारको काम समाचार सङ्कलन÷संप्रेषण भएकाले भ्रष्टाचारविरुद्ध डटेर लाग्न र सरकारले कानूनविपरीत नकारात्मक काम गरेमा आलोचना गर्न आग्रह गर्नुभयो ।
मन्त्री बाँस्कोटाले बनेपा नगरपालिकालाई प्रत्येक वडामा वृद्धवृद्धा मिलन केन्द्र स्थापना गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “हाम्रा मौलिक संस्कार–संस्कृति लोप हुँदै गए, अब वृद्धवृद्धाबाट सिक्न मिलन केन्द्र स्थापना जरुरी छ ।” उहाँले बनेपामै सेक्यूरिटी प्रिन्टिङ पे्रस निर्माणार्थ बजेट विनियोजन भइसकेको जानकारी दिँदै बनेपामै आन्तरिक विमानस्थल बनाइछाड्ने दृढता पनि व्यक्त गर्नुभयो । “म पहिलाजस्तो कसैले रोकेर रोकिन्न, बनेपामा आन्तरिक विमानस्थल बन्छ बन्छ, तपाईँहरु ढुक्क हुनुहोस्”, उहाँले आश्वासन दिनुभयो । रासस