Logo

सङ्गठनलाई मजबुत बनाउनुपर्छः काङ्ग्रेस प्रवक्ता शर्मा



नेपाली काङ्गे्रसका प्रवक्ता विश्वप्रकाश शर्माले सङ्गठनलाई मजबुत बनाए मात्र काङ्ग्रेस मुलुकमा बलियो हुने बताउनुभयो । पाल्पाको सदरमुकाम तानसेनमा आज काङ्ग्रेस जनजागरण प्रशिक्षणमूलक अभियानमा उहाँले सङ्गठनलाई मजबुत बनाउँदै जनताको पक्षमा जनलहर सिर्जना गर्न प्रशिक्षण महत्वपूर्ण रहेको बताउनुभयो ।

काङ्ग्रेस सरकारको समयमा मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहको निर्वाचन सम्पन्न भएपनि संविधान कार्यान्वयन गर्ने समयमा पार्टी प्रतिपक्षमा बस्नु परेकाले हुँदा यसबाट पाठ सिकेर अगाडि बढ्नुपर्ने बेला आएको उहाँले बताउनुभयो ।

विसं २०४६ को पञ्चायत शासनपछि विकास निर्माणमा आमूल परिवर्तन गर्दै शिक्षा, स्वास्थ्य, सञ्चार, सडक, खानेपानी लगायतका विकासका पूर्वाधारमा काङ्ग्रेस सरकारले मुलुकमा आमूल परिवर्तन गरेको उहाँले बताउनुभयो । राम्रा कामको जनता माझ प्रचारप्रसार गर्न नसक्दा काङ्ग्रेसलाई क्षति पुगेको प्रवक्ता शर्माको भनाइ छ ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनजागरण अभियानका प्रतिनिधि बालकृष्ण पाण्डेयले देशव्यापी रुपमा भएको जागरण अभियानले पार्टीलाई सशक्त बनाउने बताउनुभयो ।रासस



प्रतिक्रिया दिनुहोस्