Logo

नेकपा सचिवालय बैठक सरेको सर्‍यै, आजको बैठक पनि सर्यो



काठमाडौं २० जेठ । नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्ने टुंगो लागेको छैन । नेताहरूको कार्यविभाजन र पोलिटब्युरो गठनको एजेन्डामा छलफल गर्न बोलाइएको नेकपा बैठक सरेको सर्‍यै छ । जेठ ३ मा भ्रातृसंगठनहरूको एकतालगत्तै बैठक बसेर कार्यविभाजन र पोलिटब्युरो गठनबारे छलफल गर्ने भनिएको थियो । त्यसपछि बैठक बसेको छैन ।

शनिबारका लागि निर्धारित बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली भारत जाने भएपछि तयारी नपुगेको भन्दै सोमबारका लागि सारिएको थियो । अध्यक्षद्वयले सोमबारका लागि निर्धारित बैठक मंगलबारलाई सारेका छन् ।

‘सोमबार बैठक बस्ने भनिएको थियो । फेरि मंगलबारका लागि सरेको सूचना आएको छ,’ सचिवालय सदस्य ईश्वर पोखरेलले भने । बैठक सारे पनि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापासँग नेताहरूको कार्यविभाजनबारे छलफल गरेका छन् ।

नेकपाभित्र कुन विभाग कसरी बनाउने र कसलाई नेतृत्व दिने भन्नेमा रसाकस्सी चलेको छ । विशेषगरी संगठनको नेतृत्व गर्ने संगठन विभागमा नेताहरूको आँखा लागेको छ । पार्टीको संगठन परिचालन र सबै रेकर्डसमेत राख्ने यो विभागमा कसलाई लैजाने भन्नेमा अध्यक्षद्वयबीच कुरा नमिलेको स्रोतको दाबी छ । वामदेव गौतम, रामबहादुर थापा, ईश्वर पोखरेललगायत नेता यो विभागका आकांक्षी छन् ।

अन्य महत्त्वपूर्ण मानिने विदेश विभाग, राजकीय मामिला विभागका विषयमा पनि सहमति जुटेको छैन । पोलिटब्युरो गठनमा पनि तत्कालीन एमाले र माओवादी केन्द्रले आआफ्नो भागमा पर्ने व्यक्तिको नाम टुंग्याउन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्