काठमाडौं २० जेठ । ‘यतिबेला किन बोले दाहाल ? ’ राजनीतिक वृत्तमा जिज्ञासा पोखिने क्रम बढ्दै छ । प्रधानमन्त्री केपी ओली भारत जाने सुरसार गर्दै गर्दा अर्का अध्यक्ष पुष्पकमल दाहालले १५ गते एक टेलिभिजनमार्फत डेढ वर्षपछि आफू प्रधानमन्त्री हुने सहमति भएको खुलासा गरे । यो खुलासाले ओली निकै क्रुद्ध बनेका थिए । भारी मन र खिन्न अनुहार बनाएर ओली भारततर्फ प्रस्थान गर्दै गर्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ५ बुँदे सहमति छ्याप्छ्याप्ती भइसकेको थियो । ओलीका लागि यो घटना निकै असह्य थियो ।
दुई तिहाइको स्थायी सरकारको सन्देश दिइरहेका ओलीलाई डेढ वर्षपछि सत्ता हस्तान्तरणको सहमति खुलासाले मन खिन्न हुनु स्वाभाविक पनि थियो । ओली दिल्ली जाने तय भइसकेपछि यस्तो खुलासा गर्नु अर्का अध्यक्ष दाहालको रणनीति, बाध्यता वा परिबन्ध ? के थियो भन्ने बहस सुरु भएका छन् । निश्चय नै, दुई पटक प्रधानमन्त्री बनिसकेका दाहाललाई मुलुकको प्रधानमन्त्री विदेशमा जाने निश्चित भइसकेको वा प्रधानमन्त्री विदेशमा रहेका बेला सरकारका विषयमा बोल्नु उचित होइन भन्ने हेक्का थिएन भन्न मिल्दैन ।
प्रधानमन्त्रीको हैसियतमा भारत भ्रमणमा रहेका बेला अख्तियारले रातारात पत्रकार सम्मेलन गर्दाको पीडा दाहालले यति चाँडै बिर्से होलान् र ? राजनीतिमा ‘के बोलियो भन्ने कुराको जति महत्व छ । कतिबेला बोलियो’, भन्ने कुराले पनि उत्तिकै महत्व राख्छ । भारतमा ५ वर्षका लागि मोदीको पुनः उदय भएको र उक्त समारोहमा ओली सहभागी हुने निश्चित भइसकेपछि दाहालको खुलासाले ‘ओलीको कार्यकाल ५ वर्ष’ छैन भन्ने ‘कूटनीतिक’ सन्देश प्रवाह गरेको बुझ्न कठिन छैन ।
यसले ‘दीर्घकालीन महत्व र रणनीतिका विषयमा’ ओलीसँग कुनै सहमति÷सम्झौता वा कुराकानी नगर्न भारतको सत्तारोहणको तयारीमा रहेको नेतृत्वलाई सतर्क गराएको देखिन्छ । मुखले ठिक्क पारे पनि प्रधानमन्त्री ओलीसँग सन्तुष्ट हुन नसकेको भारतीय शासकलाई दाहालको खुलासाले खुसी नै बनाएको हुनुपर्छ । तर, ओलीले भने यसलाई नेपालको राजनीतिको चरित्र भन्दै असन्तुष्टि जनाए ।
ओली भारतमा हुँदा गम्भीर र खिन्न मुद्रामा देखिए । त्यसो त दाहालले करिब ६ महिनाअघि केही भारतीय सञ्चारमाध्यमलाई अन्तर्वार्ताका क्रममा ५ बुँदे सहमतिबारे जानकारी गराएका थिए ।
कम्युनिस्ट स्थापना दिवसका दिन आयोजित कार्यक्रममा सार्वजनिक पुस्तकमा पनि ५ बुँदे सहमतिपत्र छापिएको थियो । त्यतिबेला कुनै नेता–कार्यकर्ताले त्यसलाई गम्भीर रूपमा लिएनन् । ‘बाघ कराउनु र बाख्रा हराउनु’ जस्तै बन्यो, ५ बुँदेको खुलासा । हो, पार्टी एकतादेखि ५ बुँदे सहमतिको पत्र सार्वजनिक हुँदाको अवस्थामा यस्तै अन्योलमा थिए, नेकपाका कार्यकर्ता । पार्टी एकता गर्दाताका के सहमति भएको थियो ? एकताको मोडेल के थियो ? पदको बाँडफाँट के कसरी हुन्छ भनी सोध्दा, नेकपाका जिम्मेवार नेताबाट जवाफ आउँथ्यो, ‘था छैन ।’ यस्तै था छैनको अन्योलबीच एक वर्ष गुजारे उनीहरूले ।
अब पोलिटब्युरो गठन, नेताको कार्यविभाजन के–कसरी हुन्छ भनेर सोध्यो भने अहिले पनि नेकपाका नेता ‘था’ छैन भन्ने जवाफ दिन्छन् । तर, कार्यकर्ताले था’ छैन भन्दाभन्दै जिल्ला तहसम्म पुगिसकेको छ, एकता । यस्तै अन्योलबीच पार्टी अध्यक्ष दाहालले सत्ताको नेतृत्व बराबरी गर्ने सहमति भएको खुलासा गरेपछि नेकपाभित्र हलचल पैदा भयो । यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा तरङ मात्र सिर्जना गरेको छैन, राजनीतिक ज्योतिषका अनेक भविष्यवाणी सार्वजनिक हुन थालेका छन् ।
जबजको अन्तर्द्वन्द्व
जिल्ला तहको एकता नसकिँदै सचिवालय सदस्य ईश्वर पोखरेलले पार्टीमा सैद्धान्तिक विवादको विषय उठाए । आफूलाई अस्थिर भनेर आरोप लाग्ने गरेको कुरालाई खण्डन गर्दै दाहालले तत्कालीन एमाले नेतालाई पालैपालो प्रधानमन्त्री बनाएको स्मरण गराए ।
पालैपालो प्रधानमन्त्री बनाउने कुरा पार्टीको सिद्धान्त हुन नसक्ने कटाक्ष गर्दै पोखरेलले जनताको बहुदलीय जनवाद (जबज)लाई पार्टीको मार्गदर्शक सिद्धान्त मान्नुपर्ने अडान राख्न थाले । पोखरेलले जबजलाई आम कार्यकर्ताबीच लैजाने धारणा राखेपछि दाहालले आफूलाई पार्टीभित्रै ‘असुरक्षित’ महसुस गरेको हुन सक्ने नेकपा नेताहरूको तर्क छ । तत्कालीन एमालेको भावनासँग जोडिएको जबजलाई अघि सारे पूर्वमाओवादी नेतृत्व र स्वयं पनि अल्पमतमा पर्ने र भावी नेतृत्व आफ्नो हातमा आउन नसक्ने देखेर दाहाल चिन्तित थिए । पार्टी एकताका क्रममा तत्कालीन एमालेको जबज र माओवादीको २१ औं शताब्दीको जनवादबीच ‘फ्युजन’ गरेर ‘जनताको जनवाद’ मा जान नेताहरू सहमत भएका थिए ।
त्यतिखेर अध्यक्ष दाहालको निवास खुमलटारमा बसेको बैठकमा वरिष्ठ नेता माधव नेपालले जबज छाड्न नहुने अडान लिँदा अर्का नेता वामदेव गौतमले नेता नेपालविरुद्ध ‘आगो’ नै ओकलेका थिए । त्यतिबेला चुप लागेका पोखरेलले एकाएक सैद्धान्तिक स्पष्टता नभएको भन्दै जबजको कुरा उठाएपछि दाहाल क्रुद्ध बनेको उनी निकटहरू बताउँछन् । पछिल्लोपटक ओलीसँग क्रुद्ध बनेका नेता वामदेव गौतमले पनि दाहाललाई ‘दोस्रो नेता’ भनी आक्रोशित तुल्याउँदै आएका थिए । एकता नसकिँदै पार्टीभित्रबाट दाहाललाई उत्तेजित बनाउँदाको परिणामस्वरूप दाहालले ५ बुँदे खुलासा गर्दै आफ्नो स्थानको खोजी गरेको हुन सक्ने नेता बताउँछन् ।
अब के होला ?
दाहालले ५ बुँदे सहमतिको खुलासा गरेर प्रस्टता खोजे पनि त्यति सजिलै ५ बुँदे सहमति कार्यान्वयन हुने अवस्था देखिँदैन । सहमतिको चौथो बुँदामा समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने उल्लेख छ । सहमतिमा समान अवधिको कुरा गरिए पनि ‘आवश्यकता’ भन्ने शब्दमाथि नेताहरू खेल्ने ठाउँ छ । तर, सोही सहमतिको तेस्रो बुँदामा एकता महाधिवेशन नहुँदासम्म पार्टीका सम्पूर्ण निर्णय विधिसम्मत र कमिटीबद्ध छलफलका आधारमा लिने तथा दुवै अध्यक्षको सहमति र हस्ताक्षरपश्चात् निर्णयको आधिकारिकता मानिने उल्लेख छ । यसले सहमति कार्यान्वयनका लागि दुवै अध्यक्षको सहमति अनिवार्यजस्तै छ । अर्को कुरा, एकतापछि पार्टीका निर्णयगत तहमा कुनै पनि पक्षको स्पष्ट बहुमत छैन ।
मुख्य गरी अध्यक्ष ओली र दाहाल तथा वरिष्ठ नेता माधव नेपालका ‘गुट’ छन् । केन्द्रीय कमिटीदेखि स्थायी समितिसम्मको अवस्था हेर्दा तीन मुख्य नेतामध्ये दुई नेता जतातिर मिल्छन्, त्यतै बहुमत पुग्ने स्थिति छ । दुई पार्टी एकता गर्दाताका पालैपालो सरकारको नेतृत्वको सहमति भए पनि तीन जना नेताको व्यवस्थापनले मात्र यसको सहज कार्यान्वयन हुने नेकपाका नेताको भनाइ छ । अन्नपूर्णपोष्टबाट