नटिङ्घम, २१ जेठ । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार ट्रेन्टब्रिज मैदानमा भएको खेलमा इङ्ल्यान्ड विरुद्ध पाकिस्तान १४ रनले विजयी भएको छ ।
इङ्ल्यान्डका कप्तान इओन मोर्गनले टस जिती पहिले क्षेत्ररक्षण रोजेका थिए । पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ३४८ रन बनाएको थियो ।जितका लागि ३४९ रनको ठूलो लक्ष्य लिएर मैदानमा उत्रेको इङ्ल्यान्डका लागि जो रुट र जस बटलर दुबैले व्यक्तिगत १०७ र १०३ रन बनाए पनि विजय लक्ष्य प्राप्त गर्न सकेनन् ।
इङ्ल्यान्डको टिममा तीव्र गतिका बलर मार्क उडलाई समावेश गरिएको थियो ।इङ्ल्यान्डले पहिलो उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनले पराजित गरेको थियो भने पाकिस्तान वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको थियो ।
इङ्ल्यान्डको टिममा जेसन रोय, जोन्नी बेयरस्ट, जो रुट, इओन मोर्गन कप्तान, जस बट्लर, बेन स्टोक, मोइन अली, क्रिस वोक्स, आदिल रसिद, जोफ्रा आर्चर र मार्क उड रहेका थिए भने पाकिस्तानी टिममा फखार जमान, इमाम–उल–हक, बाबर आजम, मोहम्मद हाफीज, सरफराज अहमद, शोएब मलिक, आसिफ अली, शादाब खान, हसन अली, वाहाब रियाज र मोहम्मद आमिर रहेका थिए ।मङ्गलबारको खेल अफगानिस्तान र श्रीलंकाबीच हुनेछ ।