झलनाथ खनाल–टीकापुर नगरपालिका–१ वनगाउँतर्फ सिँचाइका लागि लगिएका दुई कुला । तीनै कुलाका बीचमा सानो टुक्रे जमीन । त्यही जमीनमाथि थोत्रो विद्यालय अनि झुत्रे विद्यार्थी । विसं २०४५ मा स्थापना भई प्रावि तहसम्म मात्र सञ्चालनमा रहेको सो विद्यालयमा विपन्नका छोराछोरी मात्रै विद्यार्थी छन् । नजीकै जोडिएको टोलका बासिन्दाले समेत विद्यालयको नाम सुनेका छैनन् । उनीहरुका छोराछोरी बोर्डिङ स्कूलमा पढ्छन् । स्कूलप्रति कसैको ध्यान छैन । दिनभरि मजदूरी गरेर खाने अभिभावकलाई छोराछोरी पढ्ने स्कूलका बारेमा सोच्ने फुर्सद नै छैन । उनीहरुका छोराछोरी पढ्ने स्कूलका बारेमा सोच्ने अरुलाई चासो छैन ।
यो टीकापुर नगरपालिका–१, ब्लक नं ११ स्थित कर्णाली स्कूलको झण्डै दश वर्षअघिको अवस्था हो । अहिले यो स्कूलको अवस्था निकै फेरिएको छ । यसमा विद्यालय व्यवस्थापन समिति र शिक्षकले निकै मेहनत गरेको पाइन्छ । विसं २०६६ मा स्थानीय खडक शाहले विद्यालय व्यवस्थापन समिति अध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो । स्कूलमा २५० विद्यार्थी थिए । विद्यालयसँग आम्दानीको स्रोत थिएन । बैंक खाता शून्य थियो । यस्तो जटिल अवस्थामा अध्यक्ष शाहले विद्यालय सुधारको अभियान थाल्नुभयो । उहाँले शिक्षकहरुलाई आफ्नो साथमा लिनुभयो र विसं २०६७ मा निमावि तहको स्वीकृति ल्याउनुभयो । स्कूलले सुधारको दिशा समात्यो । विद्यार्थीको चाप बढ्दै गयो । उहाँले २०६८ मै मावि तहसम्मको स्वीकृति ल्याउनुभयो । विसं २०६९ मा स्कूलको प्रधानाध्यापकका रुपमा धर्मराज शर्मा आउनुभयो । उहाँले अध्यक्ष शाहको अभियानमा अहिलेसम्म साथ दिँदै आउनुभएको छ ।
विसं २०७३ मा विद्यालयमा शिक्षा मन्त्रालयअन्तर्गतको सिभिल इन्जिनियरिङ विषयको पढाइ शुरु भयो । यो विषय कक्षा ९ बाटै पढाइ हुन्छ । पहिलो सत्रका ४१ विद्यार्थी अहिले कक्षा ११ को परीक्षा दिँदैछन् । उनीहरु कक्षा १२ उत्तीर्ण गरेपछि सब¬इञ्जिनीयर हुनेछन् । सिभिल इञ्जिनीयरिङमा अध्ययनरत तिनै विपन्न अभिभावकका छोराछोरी छन् । “उनीहरुमध्ये ९० प्रतिशत गरीब छन्”, प्रधानाध्यापक शर्माले भन्नुभयो, “तीमध्ये ७५ प्रतिशत मुक्तकमैया, सुकुम्बासी र दलितका छोराछोरी छन् ।’
गत वर्षदेखि सिटिइभिटीको १८ महिने बाली विज्ञान विषयको समेत पढाइ शुरु भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष शाह यसै विषयको तीन वर्षे कोर्ष ल्याउने प्रयासमा रहेको बताउनुहुन्छ । उहाँले विज्ञान विषयको प्लस टुका लागि समेत प्रयास भइरहेको बताउनुभयो । “विज्ञान विषयको प्लस टु सञ्चालन गर्न खर्चिलो छ”, उहाँले भन्नुभयो, “आर्थिक स्रोत जुटाउनेबित्तिकै त्यो पनि शुरु गर्छौँ ।”विद्यालय व्यवस्थापन समिति स्कूललाई बोर्डिङ स्कूलको ढाँचामा अघि बढाउने तयारीमा छ । अध्यक्ष शाहले कक्षा व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । उहाँले बाल विकास र कक्षा १ को बीचमा अर्को कक्षा थप्ने योजना रहेको सुनाउनुभयो । उहाँले अङ्ग्रेजी माध्यमबाट प्रावि तहको शैक्षिक अवस्थालाई मजबुत बनाइने बताउनुभयो ।
स्कूलमा प्रावि तहको मात्रै दरबन्दी छ । निमाविमा तीन राहत शिक्षक छन् । त्यसभन्दा बाहेकका सबै शिक्षकलाई स्कूलले आफ्नै स्रोतमा राखेको छ । स्कूलले सबै शिक्षकलाई सरकारी मापदण्डअनुसार तलब सुविधा दिन्छ । शिक्षकको तलब सुविधामा मात्रै स्कूलले मासिक रु सात लाख खर्च गर्छ । त्यो सबै स्कूलले आफैँ व्यवस्थापन गरेको छ ।
स्कूल विद्यार्थीका हकमा समेत धनी भएको छ । हाल करीब एक हजार दुई सयभन्दा बढी विद्यार्थी छन् । तीमध्ये छात्राको सङ्ख्या झन् धेरै छ । विसं २०६९ को प्रवेशिका परीक्षामा शून्य प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । प्रधानाध्यापक शर्माले २०७० सालदेखि शैक्षिक गुणस्तरले तीव्रता पाएको बताउनुभयो । उहाँका अनुसार पछिल्ला वर्षमा ३ दशमलव ६ देखि ४ जिपिएसम्म अङ्क ल्याएर विद्यार्थी उत्तीर्ण हुन थालेका छन् । “सामुदायिक विद्यालयका हकमा यो अंक निकै धेरै हो”, उहाँले भन्नुभयो, “अझै यो भन्दा राम्रो गर्ने सोचमा छौंँ ।”
स्कूलले अतिरिक्त क्रियाकलापमा समेत प्रगति गरेको छ । स्कूलले यस वर्षको उपमेयर कपमा दोस्रो स्थान र स्रोत केन्द्रस्तरीय मावि तहमा पहिलो स्थान हासिल गरेको छ । स्कूलले सामुदायिक विद्यालयस्तरीय प्रतियोगितामा आफ्नो स्थान विजेता वा उपविजेतामा उभ्याउन सफल भइरहेको छ ।
प्रधानाध्यापक शर्मा २०६५ सालमा एक संस्थाले टीकापुर नगरपालिकाका शैक्षिक संस्थाका बारेमा प्रकाशन गरेको स्मारिकामा कर्णाली स्कूलको नाम नभएको अहिले पनि सम्झिनुहुन्छ । उहाँ एक शैक्षिक कार्यक्रममा सहभागी हुँदा कार्यक्रम सञ्चालकले तपाईँको विद्यालय प्रावि हो कि निमावि हो भनेर सोधेको पनि सम्झिनुहुन्छ । अहिले स्कूलका बारेमा टीकापुरमा मात्रै होइन जिल्लाभर नै चर्चा छ । पर्याप्त भौतिक संरचना छ । केही भौतिक संरचना निर्माणका क्रममा छन् । शैक्षिक र खेलकूद सामग्रीको कमी छैन । सुविधासम्पन्न प्रयोगशाला छ । हरेक कक्षाकोठा र परिसरमा सिसी क्यामेरा जडान छ । प्रधानाध्यापक शर्माले आफ्नो कार्यकक्षबाटै विद्यालयका गतिविधि हेर्न सक्नुहुन्छ । विद्यालयको सुधारले शिक्षक विद्यार्थी खुशी छन् । तिनै विपन्न परिवारका छोराछोरीसमेत चिटिक्क परेर विद्यालय आउँछन् । विद्यार्थी निकै अनुशासित र शिक्षक जिम्मेवार बनेका छन् ।
“यो सबै टिमले गरेको मेहनतको परिणाम हो”, अध्यक्ष शाहले भन्नुभयो, “हामी स्कूलको विकासका लागि दिनरात खट्न तयार छौंँ भन्ने भावना सबैमा छ ।” विद्यालयको प्रगतिले स्थानीयवासीसमेत निकै खुशी छन् । उनीहरु असल नेतृत्वले खराब कुरालाई समेत असल बनाउन सक्छ भन्ने उदाहरण कर्णाली स्कूल भएको बताउँछन् ।