Logo

विपन्न परिवारको स्वास्थ्य बीमा



माछापुच्छे« उँपालिकाले विपन्न तथा गरीब घरपरिवार छनोट गरी उनीहरुको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।गाउँपालिकाले चालू आर्थिक वर्षमा १ देखि ६ नं वडाका विपन्न तथा गरीब १४२ घरधुरी छनोट गरी उनीहरुको स्वास्थ्य बीमा गरिदिएको हो । आर्थिक अभावमा स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित नहोऊन् भनेर गरीब परिवार यकिन गरी उनीहरुका सदस्यलाई स्वास्थ्य बीमामा आबद्ध हुँदा लाग्ने रकमसमेत भुक्तानी गरिएको गाउँपालिका अध्यक्ष कर्ण गुरुङले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य शाखाप्रमुख हरिलाल आचार्यका अनुसार उनीहरुको बीमाका लागि गाउँपालिकाले रु तीन लाख ७७ हजार ९५० उपलब्ध गराएको थियो । नागरिकले सहज रुपमा स्वास्थ्य सेवा प्राप्त गर्न सकून् भनेर दुई वर्षअघि देखि सरकारले सामाजिक स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेकामा पाँच जनाको परिवार भएको प्रतिघरले वर्षमा रु दुई हजार ५०० तिरे बीमा कार्यक्रममा सहभागी हुन सक्ने व्यवस्था छ भने पाँचभन्दा बढीको हकमा भने प्रतिव्यक्ति रु ४२५ बुझाउनुपर्नेछ ।

स्वास्थ्य बीमा कार्यक्रममा सहभागी परिवारका सदस्यले वर्षमा रु ५० हजारसम्मको उपचार तोकिएको अस्पतालबाट निःशुल्क पाउने व्यवस्था गरिएकामा आगामी वर्षबाट रु तीन हजार ५०० भुक्तानी गरेर पाँच जनासम्मको परिवारले वार्षिक रु एक लाख सम्मको तोकिएको अस्पतालबाट उपचार सुविधा पाउने व्यवस्था सरकारले गरेको छ । पाँचभन्दा बढी सदस्य भएको परिवारमा थप प्रतिसदस्य रु ७०० भुक्तानी गर्नुपर्ने भएको छ ।

गाउँपालिकाका नौ वटै वडाबाट स्वास्थ्य बीमामा सहभागी हुन नसकेका विपन्न र अति गरीब परिवारको बीमा गर्ने योजनाअनुसार चालू आवकोे नीति तथा कार्यक्रममा नै उल्लेख गरेर बीमाका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको थियो । बाँकी तीन वटाको फाइल आउन ढिलाइ भएकोले आगामी साउनबाट लागू हुने गरी उनीहरुलाई बीमामा सहभागी गराउने तयारी गरिएको स्वास्थ्य प्रमुख आचार्यले जानकारी दिनुभयो ।

प्रत्येक वडा कार्यालयले वडाअन्तर्गतका गरीब घरपरिवार पहिचान गरी उनीहरुबाट आवेदन दर्ता गरेर त्यस्ता परिवारको आम्दानी, रोजगारीको अवस्था, ज्याला, विप्रेषण ९रेमिट्यान्स० तथा ऋण उपभोगका आधारमा त्यस्ता परिवार छनोट गरिएको आचार्यले बताउनुभयो ।

सङ्घीय तथा प्रदेश सरकारबाट अनुदान रकम प्राप्त गरेका लाभग्राहीलाई भने यस कार्यक्रममा सहभागी नगराइएको र गरीब, विपन्न तथा अन्य लक्षितवर्गका परिवारले बीमा कार्यक्रमको योगदान रकममा अनुदान माग गर्दा परिवारका सदस्य, उनीहरुको नाममा रहेको घरजग्गाको विवरण, गरगहना र बैंक तथा वित्तीय संस्थाहरुमा ऋण लिए नलिएकोलगायत विवरणका आधारमा परिवार छनोट गरिएको गाउँपालिकाले जनाएको छ । कास्कीमा स्वास्थ्य बीमा गरेका नागरिकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट उपचार सेवा लिने गरेका छन् ।रासस



प्रतिक्रिया दिनुहोस्