Logo

सरकारी सञ्चारमाध्यमले जनताबाट सिक्नु पर्छ: सञ्चारमन्त्री



सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारी सञ्चारमाध्यम सरकार र जनताप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । नेपाल टेलिभिजन कोहलपुर क्षेत्रीय प्रसारण केन्द्रको आज अवलोकन तथा निर्देशनका क्रममा उहाँले जनताबाट सिकेर जनतालाई नै सिकाउने दिशातर्फ सरकारी सञ्चारमाध्यम क्रियाशील हुनुपर्ने बताउनुभयो ।

“नेपाल टेलिभिजन अरुभन्दा पृथक छ, त्यसका आधारमा कार्यसूची बनाउनु पर्दछ”, उहाँले भन्नुभयो, “जनताबाट सिक्ने र जनतालाई सिकाउन सक्नुपर्छ, त्यसको लागि जनतासँग जोडिन आवश्यक छ ।”

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाले नेपाल टेलिभिजनले घटना जे छ त्यसलाई प्रत्यक्ष दिँदै सरकारको आधिकारिक भनाइलाई पनि समावेश गर्नुपर्ने उल्लेख गर्नुभयो । “जनता धेरै जागरुक भइसकेका छन्, धेरै अपेक्षा छन्, बेग्लै चाहना छन्, त्यसैले परम्परागत ज्ञानलाई शक्तिका रुपमा राखेर पछिल्लो टेक्नोलोजीलाई अपनत्व गर्नुको विकल्प छैन”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “भौगोलिक विविधता, जीवनपद्दति र औद्योगिक क्षेत्रसँग पनि एनटिभी जोडिनु पर्दछ ।”

आर्थिक क्षमता वृद्धि भएसँगै कर्मचारीको सुरक्षा र क्षमता बढाउन सकिने उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले दिएर मात्रै हुँदैन, नेपाल टेलिभिजन कमाउने संस्था हो तर कमाउने मात्रै पनि होइन, त्यही रुपमा कार्ययोजना बनाउनु पर्दछ ।” सो अवसरमा नेपाल टेलिभिजका अध्यक्ष डा महेन्द्र विष्टले यो वर्ष नेपाल टेलिभिजनलाई प्रविधि रुपान्तरणको वर्षका रुपमा अगाडि बढाइएको बताउँदै अव विषयवस्तु र नेपाल टेलिभिजनको पहुँचलाई विस्तार गर्नेतर्फ ध्यान दिईने बताउनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आजै नेपालगञ्जस्थित नेपाल टेलिकमको क्षेत्रीय कार्यालयको पनि अवलोकन तथा निरीक्षण गर्नुभएको छ ।रासस



प्रतिक्रिया दिनुहोस्