युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रको विकासले मात्रै देशमा समृद्धि सम्भव रहेको बताउनुभएको छ ।एभरेष्ट क्लब चितवनले आजदेखि शुरु गरेको पाँचौँ चितवन च्याम्पियनसीप २०७६ को उद्घाटन गर्दै खेल क्षेत्रको विकासका लागि सरकार लागि परेको बताउनुभयो ।
मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो । खेल क्षेत्रलाई अघि वढाएर प्रतिस्पर्धी बनाउन सरकार लागी परेको भन्दै उहाँले नेपाली खेलाडीले प्रतिकूलताका बाबजुद् पनि खेलिरहेको बताउनुभयो ।
सरकारले खेलाडीको योगदानको कदर गर्दै आजीवन भत्ताको व्यवस्था गरेको उहाँको भनाइ थियो । खेलाडीको भविष्य सुनिश्चित नभएसम्म युवा पुस्ताको खेलतर्फ आकर्षण बढ्न नसक्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “खेल क्षेत्रमा युवा पुस्ताको आकर्षण घट्यो भने खेलाडीले देशका लागि खेल्न सक्दैनन ।” राज्यले खेलाडीको स्वास्थ्य, जीवन, दुर्घटना बीमालगायतका काम गरिदिने बताउँदै उहाँले खेललाई व्यावसायिक र पेशाको रुपमा अघि बढाउन आवश्यक छ भन्नुभयो ।
कार्यक्रममा चितवन जिल्ला फुटबल सङ्घका अध्यक्ष श्रीकृष्ण कार्की, क्लबका सल्लाहकार सन्तोष पनेरुलगायतले बोल्नुभएको थियो । प्रतियोगितामा चितवनका आठसहित १६ समूहको सहभागीता रहेको छ । आजको पहिलो खेल भरतपुर फुटबल क्लब र साविक विजेता गैँडाकोट फुटबल क्लबबीच भएको छ । रासस