होटल तथा रेष्टुरेन्ट व्यवसायीले बुटवलमा रात्रिकालीन सेवा दिन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले राति १० बजे नै व्यवसाय बन्द गर्दा ठूलो घाटा बेहोर्नुपरेको गुनासो गरे । होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ रुपन्देहीको आज बुटवलमा आयोजित १९औँ वार्षिक साधारणसभामा व्यवसायीले शान्ति सुरक्षाको नाममा रात्रिकालीन सेवा रोक्न नहुने बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर विकास निर्माणको काम अगाडि बढाएको बताउनुभयो । उहाँले बुटवलका ऐतिहासिक सम्पदाको पहिचान गरी गुरुयोजना बनाएर नगरपालिकाले काम थालेको बताउनुभयो ।
होटल तथा रेष्टुरेण्ट व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष माधव नेपालले रुपन्देही अन्तर्राष्ट्रियस्तरमा परिचित हुँदै गएकाले अब होटलले स्तरवृद्धि गर्नुपर्ने धारणा राख्नुभयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी महासङ्घ प्रदेश नं ५ का अध्यक्ष भास्कर काफ्लेले जनताको चाहनाअनुसार सेवा दिन सक्ने गरी व्यवसायलाई व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीले अन्तर्राष्ट्रिय विमानस्थल र बुद्धसर्किट सञ्चालनमा आएपछि यस क्षेत्रको पर्यटनले फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो ।
होटल व्यवसायी महासङ्घ प्रदेश नं ५ का वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठले यस क्षेत्रमा स्तरीय होटल सञ्चालन हुने क्रम बढेकाले राज्यले होटल व्यवसायलाई लगानीमैत्री वातावरण बनाउनुपर्ने धारणा राख्नुभयो ।साधारणसभामा सङ्घका अध्यक्ष समुन्द्र जिसीले होटल व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार डायलसन अधिकारीलाई पर्यटन पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित गरिएको थियो । ९तस्वीर उपलब्ध छ०