Logo

अपेक्षा अनुरुप बजेट विनियोजन भएन



युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बजेटमा खेलकूद क्षेत्रलाई पर्याप्त रकम छुट्याउन नसकिएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले मन्त्रालयले रु १५ अर्ब बजेट माग गरेको भए पनि रु तीन अर्ब ९९ करोड पाएको बताउनुभयो ।

स्रोत साधनको सीमाका कारण खेलकूद क्षेत्रमा जति बजेट विनियोजन हुनुपर्ने थियो त्यो हुन नसकेको उल्लेख गर्दै उहाँले खेलकूद क्षेत्रले अपेक्षा गरे अनुसारको बजेट विनियोजन नभएको जानकारी गराउनुभयो । खेलकूद क्षेत्रमा देखिएका समस्या र चुनौतीलाई बजेट कार्यक्रमका हिसाबले र नीतिगत हिसाबले मार्गदर्शन गरेको उहाँको भनाइ थियो ।

बजेट कम रहे पनि खेल क्षेत्रलाई प्राथमिकतामा नपारेको भन्ने कुरा यथार्थ नभएको उहाँले बताउनुभयो । उहाँले राष्ट्रिय लक्ष्य प्राप्तिका लागि सरकार योजनाबद्ध ढङ्गले अघि बढेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “खेल क्षेत्रले समृद्धि प्राप्त नगरेसम्म समृद्ध नेपाल बन्न सक्दैन, यसका लागि सरकार सातै प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला निर्माणको काममा लागेको छ ।”

खेलकूद क्षेत्रमा देखिएको विवाद अन्त्य गर्दै अघि बढ्न सरकार लागि परेको उहाँले जानकारी दिनुभयो । सबै पक्ष एकताबद्ध भएर अघि बढ्न नसकेको खण्डमा खेल क्षेत्रको विकास सम्भव नभएकाले उहाँले आफूले जिम्मेवारी सम्हालेपछि सबै पक्षलाई एकताबद्ध हुन आह्वान गरेको बताउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्