Logo

विषय अभिव्यक्तिको, मुद्दा विद्युतीय कारोबारको



काठमाडौं ३१ जेठ । डिजिटल कारोबारलाई सुरक्षित बनाउन ल्याइएको विद्युतीय कारोबार ऐनको प्रहरीबाट दुरुपयोग बढेको छ । फिल्मबारे व्यंग्यात्मक समीक्षा गर्नेहरूलाई समेत प्रहरीले विद्युतीय कारोबार ऐनको गलत व्याख्या गरी कारबाही गर्न लागेको छ । ‘वीर विक्रिम २’ नामक फिल्मबारे व्यंग्यात्मक र आलोचनात्मक समीक्षा गरेको भन्दै प्रहरीले हास्यकलाकार प्रनिश गौतमलाई सात दिनदेखि थुनामा राखेर विद्युतीय कारोबार ऐनअनुसार मुद्दा प्रक्रिया अघि बढाएको छ । प्रहरीको यस्तो कदमले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हक हनन भएको भन्दै प्रहरीको सर्वत्र आलोचना भएको छ ।

‘मेम नेपाल’ नामक युट्युब च्यानलमा सो फिल्मबारे गौतमले व्यंग्यात्मक भिडियो समीक्षा गरेका थिए । सो समीक्षाले आफूहरूको मानमर्दन भएको भन्दै निर्देशक मिलन चाम्लिङ राईले प्रहरीमा जाहेरी दिए । विस्तृत अनुसन्धान नै नगरी प्रहरीले गौतमलाई पक्राउ गरी मुद्दा चलाएको हो । जब कि उजुरी परेलगत्तै मेम नेपालले सो भिडियो हटाएको थियो । फिल्मबारे नकारात्मक समीक्षा गरेकै आधारमा पक्राउ गर्नुले नागरिकको अभिव्यक्ति स्वतन्त्रता नै हनन भएको अधिकारकर्मीले बताएका छन् । फ्रिडम फोरम, चलचित्र समीक्षक समाजलगायतले समेत गौतमको पक्राउप्रति आपत्ति जनाएका छन् । पक्राउको विरोधमा बुधबार राजधानीमा प्रदर्शन नै भएको थियो । सामाजिक सञ्जालमार्फत समेत उनलाई छुटाउन दबाब अभियान सुरु गरिएको छ ।

प्रहरी भन्छ–अदालतकै आदेशमा पक्राउ
अपराध महाशाखाका एसएसपी सहकुल थापा सबै प्रक्रिया पूरा गरेर अदालतकै आदेशमा गौतमलाई पक्राउ गरिएको बताउँछन् । ‘जाहेरी आएपछि हामीले दर्ता नै नगर्न मिल्दैन,’ उनले भने, ‘प्रहरीमा आएको जाहेरी र फिल्मबारे गरिएको समीक्षा हामीले अदालतमा देखायौं, यत्तिको घटनामा साइबर क्राइम मुद्दा चल्छ भनेपछि थुनामा राखेर अनुसन्धान अघि बढाएका हौँ ।’ १४ दिनसम्म आफूहरूले दुई पक्षलाई मिलाउने प्रयास गरेको उनी बताउँछन् । तर, जाहेरी दिनेले मुद्दा चलाउनैपर्ने बताएपछि अदालतको आदेशमा थुनामा राखिएको उनको भनाइ छ ।

मानहानी हो भने देवानी मुद्दा हुन्छ तर, हत्कडी किन लगाइन्छ ?
मानमर्दनसम्बन्धी विषयमा साइबर क्राइम जोडिँदैन । त्यस सम्बन्धमा गालीबेइज्जती ऐन आकर्षित हुन्छ । देवानी मुद्दा प्रहरीमा होइन, अदालतमा मात्र दर्ता हुन्छ । फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल भन्छन्, ‘सामाजिक सञ्जालमा कसैको मानमर्दन भएको हुन सक्छ, तर सुरुमा उसलाई सच्चिने मौका दिनुपर्छ, यदि त्यसो भएन भने अदालतमा गालीबेइज्जतीसम्बन्धी मुद्दा हाल्ने हो, साइबर क्राइम आकर्षित हुँदैन ।’

साइबर क्राइममा पक्राउ परेकामध्ये कतिपय अन्जानवश फोटो सेयर गरेकाहरू रहेको उनले बताए । पछि त्यस्तो गर्न नहुने थाहा पाएर डिलिट गर्दासमेत मुद्दा चलेको उनले बताए । हालै मात्र त्यसरी पक्राउ परेका सिन्धुपाल्चोकका प्रधानाध्यापक ईश्वर चापागाईंलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । साइबर कानुनसम्बन्धी जानकार अधिवक्ता बाबुराम अर्याल गालीबेइज्जतीसम्बन्धी विषय साइबर क्राइम हुन नसक्ने बताउँछन् । यसलाई प्रस्ट रूपमा देवानी मुद्दामा नराखे सत्तामा रहेकाहरूले गलत प्रयोग गर्ने जोखिम रहेको उनी बताउँछन् । राम्रोसँग अध्ययन नगरी मुद्दा चलाएको अवस्थामा प्रहरीमाथि नै कारबाही हुने प्रावधान मुलुकी अपराध संहितामा छ । यस्तामा अनुसन्धान अधिकृतविरुद्ध नै मुद्दा चल्न सक्छ । नयाँपत्रिकाबाट



प्रतिक्रिया दिनुहोस्