Logo

उपभोक्ता समितिको आश गर्ने कम्युनिष्ट कार्यकर्ता होइनन्ः नेता रावल



नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलले उपभोक्ता समितिको आश गर्ने कार्यकर्ता कम्युनिष्ट हुन नसक्ने बताउनुभएको छ । केही लाभ लिने मानसिकता राखेर उपभोक्ता समितिको अध्यक्ष सचिव हुने सोचको अन्त्य हुनुपर्ने बताउनुभयो ।

नेकपा जिल्ला कमिटी बाजुराको सपथ ग्रहण समारोहमा रावलले सुनौला अवसरलाई गुमाउने छुट नेकपासँग नरहेको बताएका छन् । ७० वर्षपछि पाएको अवसरलाई सदुपयोग गर्न नसके काँग्रेसकै हाल हुने आशंका व्यक्त गरेका छन् ।

उहाँले भन्नुभयो, “जनप्रतिनिधि जनताको आवाज सुन्ने, साझा हितको पक्षमा बोल्ने हुनुपर्छ, सत्ता र शक्तिमा पुगेपछि कार्यकर्ता, पार्टी सबै बिर्सीने र निजी स्वार्थमा सीमीत हुने रोग सल्कीन दिन हुन्न ।” पूर्वउपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका रावलले चुनावी बाचा पूरा गर्नुको विकल्प नरहेको बताउनुभयो । सरकारका लोकप्रिय कामको गाउँमा सन्देश लिएर वृद्धभत्ता बढेको खबर गर्न कार्यकर्तालाई रावलले अपिल गर्नुभयो ।

कार्यक्रममा नेकपाका स्थायी कमिटी सदस्य लेखराजट भट्टले पार्टी एकता नै एतिहासिक उपलब्धि भएकाले भूमिका पाउने र नपाउने विषय प्रधान नठान्न आग्रह गरेका छन् । पार्टीमा जनवाद र केन्द्रीयता दुवै भूमिका हाबी हुने भएकोले त्यसलाई आत्मसात गर्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

प्रदेश अध्यक्ष कर्णबहादुर थापाले क्षमता, योग्यता र इमान्दारिताका आधारमा भूमिका बाँडफाँट गरिएकोले प्राप्त अवसरलाई अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो । थापाले गाउँ नगर, वडा कमिटी नै बलियो भएकोले जिल्ला कमिटीमा नअटाएका कार्यकर्तालाई थुप्रै अवसर रहेकोसमेत जानकरी गराउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्