Logo

कहाँ सरुवा भए भावी आइजीपीका दाबेदार



काठमाडौं, जेष्ठ ३२ । नेपाल प्रहरीमा भावी आइजीपीका मुख्य दाबेदार डिआइजीहरुको सरुवा भएको छ । भावी आइजीपीका मुख्य दाबेदार डिआइजी ठाकुर ज्ञवाली एक नम्बर प्रदेशमा सरुवा भएका छन् । उनका प्रतिष्पर्धी मध्येका तारिणी लम्साल सुदुरपश्चिम र पूर्णचन्द्र जोशी कर्णाली प्रदेशमा सरुवा गरिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार साँझ गरेको सरुवा आज सार्वजनिक गरिएको हो । वर्तमान आइजीपीको कार्यकाल भर सरुवा गरिएका डिआइजीहरु हालको स्थानमा यथावत् रहने सम्भावना रहेकाले यसलाई अर्थपूर्ण मानिएको छ ।

प्रहरी नियमावली यथावत् रहेमा वर्तमान आइजीपी सर्वेन्द्र खनालसहित उनका ब्याची तीन एआइजी अबको आठ महिनापछि सेवानिवृत्त हुनेछन् । त्यसपछि ठाकुर ज्ञवाली, तारिणी लम्साल र पूर्णचन्द्र जोशी आइजीपीका मुख्य दाबेदार हुनेछन् ।

ज्ञवालीको ब्याचीपछिका आइजीपीका दाबेदार हरि पाल विशेष ब्युरोमा सरुवा भएका छन् । उनी दुई नम्बर प्रदेशमा थिए । पालका ब्याची प्रद्युम्न कार्की दुई नम्बर प्रदेश खटाइएका छन् । यी दुईका ब्याचीका वरियतामा माथि रहेका डिआइजी शैलेश थापा क्षेत्री उपत्यका प्रहरीका प्रमुखमा यथावत् छन् । भविष्यमा थापा, पाल र कार्कीबीच डिआइजीको प्रतिष्पर्धा हुने देखिदेछ ।

प्रदेश तीनमा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा बिनोद शर्मा घिमिरे, प्रदेश नम्बर पाँचमा सुरेन्द्रविक्रम शाह सरुवा भएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कमलबहादुर जि.टी, प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयमा केदार रिजाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा दानसिंह बोहरा, प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयमा दिपककुमार थापा, पिताम्बर अधिकारी प्रहरी प्रधान कार्यालय महिला तथा बालबालिका निर्देशनालयमा सरुवा भएका छन् ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय, महेन्द्रकुमार पोख्रेल वृत्ति विकास निर्देशनालय, महेश विक्रम शाह राष्ट्रिय सुरक्षा परिषद्, सुरज केसी सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय, सुरेश विक्रम शाह ५ नम्बर प्रदेश प्रहरी कार्यालय, सुर्य प्रसाद उपाध्याय विमानस्थल सुरक्षा, हरिभक्त प्रजापती जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा सरुवा भएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot