Logo

८२ पाकेटमार र लुटेरा यसरी पक्राऊ परे



काठमाडौं, १ असार । सार्वजनिक यातायातमा पाकेट मार्ने र लुट्ने समूहका सदस्यलाई विशेष अपरेशन चलाएर प्रहरीले पक्राऊ गरेको छ । एक हप्ता लामो सर्च अभियान चलाएर ८२ जना पाकेटमार र लुटेरालाई पक्राऊ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रहरीले सर्च अभियान चलाउने क्रममा काठमाडौंको रिङरोड, रत्नपार्कलगायतका स्थानमा सादा पोशाकका प्रहरी परिचालन गरेको थियो । बसहरुमा पाकेट मार्ने र लुट्ने गतिविधि बढेको उजूरी आएपछि प्रहरीले रणनीति बनाएर नियन्त्रणमा लिएको हो ।

पाकेटमार र लुटपाटमा संलग्नमध्ये अधिकांश ३० वर्ष मुनीका रहेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान गरी कानुनी कारबाही अगाडि बढाइने भएको छ ।

कसरी लुट्थे

विहान छ बजे देखि नै सार्वजनिक यातायातमा यात्रुका रुपमा पसेर लुट्नेहरुको समूह थियो । कतिपयले भीडभाडमा पाकेट मार्ने देखि झोला तानेर भाग्थे । यात्रुहरुलाई त्रसित बनाएर लुट्ने समूह पनि थियो । समूह नै बसमा छिरेर त्रसित बनाएर लुटेर भाग्थे । चालक, सहयोगी र यात्रु समेत डरले प्रतिकार गर्ने अवस्थामा हुन्नथिए ।



प्रतिक्रिया दिनुहोस्