काठमाडौं, २ असार । पानी नपर्दा देशभरको जनजीवन प्रभावित भएको छ । एक सातायता काठमाडौं उपत्यकालगायत तराईका जिल्लाहरुमा पानी नपर्दा गर्मी बढेको छ । पानी पर्न ढिलो भएमा गर्मीले रेकर्ड तोड्ने सम्भावना रहेको छ ।
गर्मीका कारण तराईका जिल्लाहरुमा मानिसहरु दिउँसो घरबाट कमै निस्कन थालेका छन् । काठमाडौं उपत्यकामा पनि गर्मीका कारण दिउँसो हिडडुल गर्न कठिन भएको छ । पानी नपर्दा धान रोपाई ढिलो हुने देखिएको छ ।
नेपालगञ्जको अधिकतम् तापक्रम ४० डिग्रीभन्दा माथि पुगिसकेको छ । हिजो अधिकतम तापक्रम ४२ डिग्री मापन भएकोमा आज पनि पारो ४२ सम्म पुग्ने देखिदैछ । भैरहवाको तापक्रम पनि ४२ डिग्री पुगेको छ । सोमबार ४२ डिग्री कट्ने अनुमान छ ।
काठमाडौंमा एक हप्तायता अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि मापन गरिएको छ । मध्य शहरमा ३३ देखि ३४ डिग्रीको बीचमा तापक्रम मापन गरिएको छ । मनसुन अझै एक साता ढिलो हुने मौसमविद्हरुको पूर्वानुमानलाई आधार मान्दा देशका अधिकांश स्थानमा गर्मी बढ्दै जानेछ । पानी नपरेसम्म गर्मी अझ बढ्न जाने भएका तराईमा बसोबास गर्नेहरु बढी चिन्तित देखिएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पूर्वि भू भाग लगायत मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली हुनेछ । पूर्वका केही स्थानहरुमा र मध्य र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना छ ।