Logo

गुठी विधेयकले नेकपाभित्र चर्कियो विवादः



काठमाडौं, २ असार । गुठी विधेयकलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र विवाद चर्किएको छ । संसदीय दलभित्र गुठी विधेयकको पक्षमा विपक्षमा सांसदहरु उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली अप्ठ्यारोमा परेका छन् ।
गुठी विधेयक फिर्ताको माग गर्दै काठमाडौं उपत्यकाभित्र आन्दोलन चर्किएको छ । विशेषगरी नेवार समुदाय गुठी जोगाउनुपर्ने भन्दै संघर्षका कार्यक्रमसहित उठेका छन् । उनीहरुलाई देशमा प्रतिष्ठित व्यक्तिहरुको साथ छ ।

पक्ष र विपक्ष

गुठी विधेयकको पक्षमा ओली निकटहरु देखिएका छन् । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुठीलाई सामन्तवादको स्वरुपको संज्ञा दिदै परिवर्तन आवश्यक रहेको औल्याएका छन् । सार्वजनिक रुपमै उनले दिएको अभिव्यक्ति विवादमा परेको छ ।

थारु समुदायका नेकपाका सांसदहरु विधेयकको पक्षमा उभिएका छन् । दाङ स्थायी घर भएकी नेकपा सचेतक शान्ता चौधरी विधेयक किसानको पक्षमा रहेको भन्दै कुनै हालतमा फिर्ता गर्न नहुने पक्षमा छिन् ।
नेकपाकी सांसद गंगा चौधरीले गुठी विधेयक कुनै हालतमा पारित हुनुपर्ने पक्षमा छिन् । गुठी विधेयकको विरोधमा आन्दोलनमा उत्रिएकालाई भाडाका मान्छे भनिन् । मण्डलामा केही भाडाका मान्छे आउँदैमा विधेयक फिर्ता लिन नहुने चौधरीको अभिव्यक्ति विवादमा परेको छ ।

नेकपाका सांसदहरुमध्ये प्रचण्ड र माधवकुमार नेपाल निकटहरु मौन छन् । केहीले मध्यमार्गी बाटो अपनाउन सुझाव दिएका छन् । प्रचण्ड निकट रहेका रामवीर मानन्धरले गुठी विधेयक नसच्याए गणतन्त्र उल्टने चेतावनी दिइसकेका छन् । मानन्धरले गुठीलाई सामन्तवादी स्वरुप भन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागिसके ।

काठमाडौं उपत्यकाबाट निर्वाचित नेकपा सांसदहरुले गुठी विधेयक फिर्ता लिन या सच्याउन सुझाव दिएका छन् । कतिपयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी गुठी विधेयक फिर्ता नलिए उपत्यकामा आफूहरुको राजनीति समाप्त हुने खतरा औल्याए ।

एउटा पक्षले विधेयक फिर्ता लिन दबाब दिइरहँदा अर्को पक्षले विधेयक फिर्ता लिएमा आन्दोलन चलाउने चेतावनी दिइसकेका छन् । दाङ, जनकपुरलगायतका क्षेत्रमा गुठीका जग्गा व्यक्तिको बनाउन चलखेल भइरहेकाले त्यस क्षेत्रका सांसदहरु गुठी विधेयकको पक्षमा उभिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot