काठमाडौं ३ असार । वैदेशिक रोजगारमा गएकाहरूको ज्यान गुमाउनेको संख्या उच्च रहेको छ । मलेसिया, साउदी अरेबिया र कतारलगायत देशमा पछिल्ला ११ महिनामा श्रमको सिलसिलामा ५ सय २ जनाले ज्यान गुमाएको वैदेशिक रोजगार बोर्डको तथ्यांक छ । मलेसिया लगायतका यी खाडी मुलुक नेपालका लागि वैदेशिक रोजगारको मुख्य गन्तव्य मानिएको छ ।
वैदेशिक रोजगारका लागि बिदेसिने कुल संख्याको ८६.४२ प्रतिशत कामदार मलेसिया, कतार, साउदी अरेबिया र यूएईमा छन् । तर यिनै मुलुकमा सबैभन्दा धेरै संख्यामा कामदारले ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता दीनबन्धु सुवेदी बताउँछन् ।
बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५–७६ को जेठ महिनासम्म वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिएर करार अवधिभित्र ज्यान गुमाउनेको संख्या ६ सय ६६ रहेको छ । गत साउनदेखि जेठ महिनासम्म सबैभन्दा धेरै मलेसियामा २ सय ६ जना कामदारले ज्यान गुमाएको बोर्डले जनाएको छ । यस्तै साउदी अरेबियामा १ सय ७७ र कतारमा १ सय १९ कामदारले ज्यान गुमाएको तथ्यांक बोर्डसँग छ । पछिल्ला वर्षहरूमा यो दर बढदो रहेको सुवेदीले बताए ।
पछिल्ला तीन वर्षको तथ्यांक केलाउने हो भने विदेशी भूमिमा ज्यान गुमाउने कामदार आर्थिक वर्ष २०७२–७३ मा ८ सय १६ छन् । आर्थिक वर्ष २०७३–७४ मा यो संख्या थोरै घटेर ७ सय ५६ पुगेको भए पनि आर्थिक वर्ष २०७४–७५ मा यो संख्या बढेर पुनः ८ सय २१ पुगेको छ । यी मुलुकमा जाने अधिकांश जनशक्ति अदक्ष हुने हुँदा अरूको तुलनामा यी मुलुकमा मृत्यु हुनेको संख्या बढी रहेको सुवेदीले बताए । ‘नेपाली श्रमिक विदेशमा जोखिमयुक्त काम गर्न बाध्य हुन्छन्, तर त्यो अनुसारको सावधानी अपनाउन प्रशिक्षण दिने काम भएको छैन,’ उनले बताए ।
नेपालले अहिले १ सय ७२ मुलुकसँग श्रम स्वीकृति लिई संस्थागत एवं व्यक्तिगत रूपमा कामदार पठाइरहेको छ । आर्थिक वर्ष २०७४–७५ मा ३ लाख १२ हजार ७ सय ४९ नेपाली श्रम स्वीकृति लिएर बिदेसिएको रोजगार विभागको तथ्यांक छ । विभागका अनुसार आर्थिक वर्ष २०७४–७५ मा कतारमा १ लाख ८३ हजार ५ सय ४२, साउदी अरबमा १ लाख ८ हजार ४ सय १४, मलेसियामा १ लाख ३७ हजार ३ सय ११ छन् भने यूएईमा १ लाख १४ हजार ९ सय ४१ रोजगारीका लागि गएका छन् ।
‘वैदेशिक रोजगारीको क्षेत्रमा यो गम्भीर चुनौती हो,’ सुवेदीले बताए । तर के कारणले कामदारले ज्यान गुमाइरहेका छन् त्यसको भने अध्ययनै नभएको सुवेदी बताउँछन् । ‘मृत्युदर घटाउन अनुसन्धानमार्फत यसको प्रमुख कारक पत्ता लगाउनुपर्छ तर त्यसका लागि अध्ययन नै सुरु भएको छैन,’ उनले भने ।
‘रोजगारीका लागि विदेश जान चाहनेलाई विदेशी भूमिबारे सुसूचित गर्न आवश्यक छ,’ उनले भने । ‘उनीहरूलाई काम गर्ने वातावरणबारे जानकार गराउनुपर्छ ।’ ‘बोर्डले वैदेशिक रोजगारीलाई प्रवर्द्धन गर्न बिदेसिने श्रमिकका लागि विभिन्न अभिमुखीकरण तालिम दिइरहेको छ, तर त्यो प्रभावकारी बन्न सकेको छैन,’ उनले बताए ।
नेपालको कुल गार्हस्थ उत्पादनको २८ प्रतिशत हिस्सा रेमिट्यान्सले ओगटेको छ । एक त मुलुकले पर्याप्त रोजगारीका अवसर सिर्जना गरी युवालाई देशभित्रै परिचालन गर्न सकेको छैन । वैदेशिक रोजगारीमा जानेहरूलाई पनि सुरक्षाको प्रत्याभूत गराउन सकेको छैन । वैदेशिक रोजगारमा जाने कामदारहरू सँगै यस क्षेत्रमा संलग्न निकायहरूको संख्या पनि बढदै गएको छ । तर श्रमिकको मृत्यु संख्या घटाउन भने पहलकदमी चालिएको खासै देखिँदैन ।
नेपाल सरकारले खुला गरेको देशमा श्रम स्वीकृति लिएर करार अवधिभर अंगभंग या मृत्यु भएमा पीडित परिवारलाई ७ लाख रुपैयाँसम्म क्षतिपूर्ति दिने व्यवस्था वैदेशिक रोजगार बोर्डले गरेको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु हुनेका सन्तानलाई आधारभूत तहसम्म निःशुल्क शिक्षा र परिवारका सदस्य बिरामी भएमा औषधि उपचारमा ५० हजारसम्म सहुलियतको व्यवस्था छ । तर यतिले मात्रै रोजगारीमा जाने श्रमिकहरूप्रतिको बोर्डको जिम्मेवारी पूरा हुँदैन । वैदेशिक रोजगारीको क्षेत्रलाई सुरक्षित र मर्यादित बनाउनु बोर्डको प्रमुख चुनौती रहेको छ ।
जुन ढंगमा युवाहरूको आकर्षण वैदेशिक रोजगारीमा बढदै गएको छ, त्यसैलाई मध्यनजर गर्दै नेपाल सरकारले विभिन्न मुलुकबाट श्रमको स्वीकृति लिई विदेशी मुलुकमा श्रमका लागि युवा परिचालन गरिरहेको छ । तर बिदेसिएकाहरूको मृत्युप्रति सरकारको गम्भीरता देखिएको छैन । बर्सेनि वैदेशिक रोजगारीमा जाने युवाहरूको मृत्युको संख्यालाई न्यूनीकरण गर्न र यसको कारण खोज्न जिम्मेवार निकायको अध्ययन नै हुन सकेको छैन ।