काठमाडौं १२ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले तिब्बती धर्मगुरु दलाई लामाका प्रतिनिधि भन्दै अमेरिकी नागरिक पेन्पा छिरिङलाई ‘इन्ट्री रिफ्युज’ गरी फर्काएको छ । भारतको नयाँदिल्ली हुँदै आइतबार काठमाडौं आएका पेन्पा ‘दलाई लामाका प्रतिनिधि रहेको र चीनको खोजी सूचीमा रहेको’ सूचना पाएपछि अध्यागमन अधिकारीले उनलाई विमानस्थलभित्रै रोकेका थिए । स्रोतका अनुसार उनी आएको सूचना अध्यागमन अधिकारीले अध्यागमन विभागका महानिर्देशक हुँदै गृहमन्त्रीकहाँ पुर्याएका थिए ।
उनलाई प्रवेश अनुमति दिँदा चिनियाँ पक्षले आपत्ति जनाउने निष्कर्षपछि गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र अध्यागमन विभागका महानिर्देशक ईश्वर पौडेलले छलफल गरेर पेन्पालाई अध्यागमनबाटै फिर्ता गरेका थिए । तर, फर्काइएका व्यक्ति दलाईका प्रतिनिधि नभएको र त्यही नामका असली प्रतिनिधि भने भारतको धर्मशालामा रहेको स्रोतले दाबी गरेको छ ।
उच्च स्रोतका अनुसार पेन्पा नेपाल आएको थाहा पाएलगत्तै चिनियाँ पक्षले उनलाई पक्रेर बुझाउनुपर्ने आशयको ‘सन्देश’ गृहमा पठाएको थियो । अमेरिकी राहदानीबाहक पेन्पालाई पक्राउ गर्दा अमेरिकाले आपत्ति जनाउने र यो कूटनीतिक विवादको विषय बन्ने भएपछि गृह मन्त्रालयले उनलाई फर्काउने नीति अख्तियार गरेको थियो ।
अध्यागमन स्रोतका अनुसार पेन्पाले आफू काठमाडौंमा पुराना साथी भेट्न आएको अध्यागमन अधिकारीलाई बताएका थिए । प्रहरी स्रोतले भने काठमाडौंको कपनलगायतका केही स्थानमा फ्रि तिब्बतसम्बन्धी कार्यक्रम हुन लागेको र त्यसमा पेन्पा सहभागी हुन आएको आशंका गरेको छ ।
सामान्यतया इन्ट्री रिफ्युज गर्दा प्रवेश नदिनुको कारण खुलाई पत्र दिएर जुन देशबाट आएको हो, सोही देश फर्काउने नियम छ । पेन्पाको घटना संवेदनशील रहेको भन्दै उनलाई आफ्नै देश वा भारत फर्कन विकल्प दिइएको थियो । पेन्पालाई सकेसम्म उनकै देश फर्काउन सरकारी अधिकारीले पहल गरेका थिए । स्रोतले भन्यो, ‘पेन्पाले टिकट नकाटे गृहले टिकट काटेर फर्काउनेसम्मको कुरा भएको थियो ।’ पेन्पाले अमेरिका फर्किने गरी सोही दिनको कतार एयरवेजको टिकट काटेपछि यो घटनालाई सामसुम पारिएको थियो ।
गृह स्रोतका अनुसार पेन्पालाई चीनले सर्वाधिक खोजी सूचीमा राखेको र उनको नेपाल आगमन चिनियाँ चासोको विषय भएकाले प्रवेश अनुमति नदिएको हो । पेन्पालाई नेपालमा प्रवेश गर्न नदिइएको विषय उल्लेख गर्दै तिब्बत सन डटकम नामक अनलाइन पोर्टलले दलाईका वास्तविक प्रतिनिधि पेन्पा भारतको धर्मशालामा रहेको जनाएको छ । उक्त अनलाइनमा दलाईका प्रतिनिधि पेन्पाले ‘चीनको दबाबमा आफनै नामका अर्कै व्यक्तिलाई नेपालले फिर्ता पठाएको’ बताएका छन् ।
अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले पेन्पालाई नेपाल प्रवेश गर्न नदिएर फर्काइएको विषयमा जानकारी नभएको बताए । प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले पनि पेन्पाको विषयमा आफूलाई थाहा नभएको बताए ।