Logo

डुंगुर फोहोर आजदेखि उठाउने तयारी



काठमाडौं १६ असार । राजधानीमा एक सातादेखि नउठेको फोहोर सोमबारदेखि व्यवस्थापन गरिने भएको छ । काठमाडौं महानगरका अधिकारी र डम्पिङसाइट नुवाकोटको सिसडोलका स्थानीयबीच आइतबार भएको सहमतिपछि फोहोर उठ्ने वातावरण बनेको हो ।

सहमतिअनुसार सिसडोलका स्थानीयले काठमाडौंबाट फोहोर लिई जाने गाडीलाई अवरोध गर्ने छैनन् । उनीहरूले प्रभावित क्षेत्रका बासिन्दालाई दिइँदै आएको क्षतिपूर्ति बढाउनुपर्ने, बाँकी क्षेत्रसमेत तत्काल अधिग्रहण गर्नुपर्नेलगायत माग राख्दै ५ दिनदेखि फोहोर लिएर आउने गाडी रोकेका थिए ।

महानगर र सिसडोलवासीबीचको सहमतिमा स्थानीयको माग पूरा गर्न दुवै पक्षको प्रतिनिधित्व रहेको १३ सदस्यीय समिति गठन भएको छ । समितिले सिफारिस गरेअनुसार महानगरले स्थानीयको माग पूरा गर्नेछ ।

पहिलो बैठकले समितिका संयोजक तोक्नेछ । समितिले अध्ययन गरी महानगरलाई प्रतिवेदन बुझाउने र त्यसैअनुसार माग पूरा गर्दै जाने सहमति भएको बैठकमा सहभागी महानगरका एक अधिकारीले जानकारी दिए ।

झन्डै एक सातादेखि फोहोर नउठदा राजधानीका चोकचोकमा फोहोर थुप्रिएको मात्र छैन, दुर्गन्धसमेत फैलिएको छ । सिसडोलका स्थानीयले शनिबार फोहोरका गाडी अवरोध गर्ने क्रममा प्रहरीसित झडप हुँदा केही सर्वसाधारण घाइते भएका थिए ।



प्रतिक्रिया दिनुहोस्