Logo

लिबियाः राष्ट्रसंघद्वारा युद्धविरामको आग्रह



त्रिपोली, २१ असार । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले लिबियामा तत्काल युद्व विराम गर्न आग्रह गरेको छ । तीन महिनामै एक हजार भन्दा बढीको मृत्यु भएको जनाउदै सुरक्षा परिषद्ले युद्ध विराम गर्न शुक्रबार आह्वान गरेको हो ।

राजधानी त्रिपोलीनजिकै रहेको ताजौरामा गत मङ्गलबार भएको आक्रमणको घटनाप्रति पनि परिषद्ले निन्दा गरेको छ । सो आक्रमणमा परी मृत्यु हुनेको संख्या ५३ भन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन डब्लुएचओले जनाएको छ । ती मध्ये छ जना बालबालिका रहेका छन् । सो हमलामा नेपाली नागरिकले पनि ज्यान गुमाएका छन ।

घटनामा परी घाइते हुनेहरुको संख्या १३० रहेको पनि डब्लुएचओका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । त्यसैगरी अन्तर्राष्ट्रिय आप्रवासन संगठनका प्रवक्ता जोएल मिल्मानले घटनामा परी विभिन्न १७ देशका नागरिक मारिएको बताउनु भयो ।

राजधानी त्रिपोलीको पूर्वी तजौरामा रहेको आप्रवासीहरु बस्ने ठाउँमा भएकोे हवाई आक्रमणलाई विभिन्न देश र अन्तर्राष्ट्रिय संघ संगठनहरुले विरोध जनाएका थिए । युरोप जानका लागि लिबियालाई बाटो बनाएकाहरु बसेको ठाउँमा आक्रमण भएको हो ।

लिबियामा पछिल्लो तीन महिनामा भएका विभिन्न आक्रमणका घटनामा परी पाँच सय भन्दा बढी घाइते भएका पनि डब्लुएचओले जनाएको छ । त्यसैगरी आक्रमणमा परेका वा त्यसबाट त्रसित भएका झण्डै एक लाख स्थानीय बासिन्दा आफ्नो घर छोडेर विस्थापित भएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्